
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा आज (मंगलबार)देखि केन्द्रीय सदस्यहरूले पार्टीको राजनीतिक तथा समसामयिक विषयमा धारणा राख्ने भएका छन् ।
रामबाग पार्टी प्यालेसमा जारी केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको बैठक बिहान ९ बजे सुरु हुँदैछ । पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार प्रत्येक केन्द्रीय सदस्यलाई धारणा राख्न बढीमा तीन मिनेटको समय निर्धारण गरिएको छ ।
उनीहरूले पार्टीको अवस्था, अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, जनतासँगको सम्बन्ध तथा समसामयिक विषयमा आफ्ना धारणा राख्नेछन् । बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेका नौवटा एजेण्डामध्ये आठवटामाथिको प्रक्रिया मंगलबारदेखि अघि बढाउने तयारी छ ।
केन्द्रीय सदस्य मनोनयनसँगै विभिन्न विभाग गठन, पोलिटब्यूरो तथा स्थायी कमिटी गठनका विषयमा पनि बैठकले प्रक्रिया अघि बढाउनेछ । त्यस्तै, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्च गठन तथा अनुशासनसम्बन्धी विषयमा पार्टीको दृष्टिकोण तय गर्ने तयारी छ ।
एमालेका एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यहरूको मनोनयन र उनीहरूको धारणा राख्ने क्रम अघि बढ्नेछ । पोलिटब्यूरो, स्थायी कमिटी गठन तथा नेताहरूको जिम्मेवारी बाँडफाँट भने बुधबार गर्ने तयारी छ । बैठकको पहिलो दिन सोमबार अध्यक्ष ओलीले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

























