
काठमाडौं । संघीय संसद्को दोस्रो अधिवेशन चलिरहेका बेला सरकारले असोजको पहिलो साता विभिन्न १० वटा विधेयक संसद्मा दर्ता गरेको छ। ती विधेयक स्वास्थ्य, शिक्षा, पूर्वाधार, सामाजिक सुरक्षा तथा कानुनी सहायता लगायतका विषयसँग सम्बन्धित छन्।
संघीय संसद् सचिवालयको वेबसाइटमा राखिएको विवरणअनुसार असोज १ देखि ६ गतेसम्म यी विधेयक दर्ता भएका हुन्।असोज ६ गते ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’, ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ दर्ता भएका छन्।
त्यसैगरी असोज ५ गते ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (दोस्रो संशोधन) विधेयक’, ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक’ र ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ दर्ता भएका छन्।
असोजको पहिलो साता ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ र ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ पनि संसद्मा पुगेका छन्। यस्तै, असोज २ गते ‘निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक’ र असोज १ गते ‘फोहोरमैला व्यवस्थापन विधेयक’ दर्ता भएको संसद् सचिवालयको विवरणमा उल्लेख छ।

























