प्रमुख नदीमा बहाव बढ्ने, साना नदीमा आकस्मिक बाढीको जोखिम

Share this
749shares

कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, मोरङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, धनकुटा, भोजपुर र खोटाङमा स-साना नदीको बहाव बढ्न सक्नेछ।

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ७, बुधबार १०:४६

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी पाँच दिन देशका प्रमुख नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ। हाल प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहे पनि आगामी दिनमा वर्षाका कारण जलसतह बढ्ने र आकस्मिक बाढीको जोखिम रहने महाशाखाले जनाएको छ।

महाशाखाले बुधबार बिहान जारी गरेको विशेष बाढी पूर्वानुमान बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीमा बहाव अहिले सतर्कता तहभन्दा उल्लेख्य तल छ। कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको अवस्था पनि सामान्य रहेको छ।

Advertisement

बुधबार यी नदीमा पानीको बहाव सामान्य रूपमा बढ्नेछ। तर बिहीबार असोज ८ गतेदेखि कोशी, कन्काई र कमला नदीमा जलसतह उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ। असोज ९, १० र ११ गते भने देशभरका अधिकांश प्रमुख नदीमा बहाव उल्लेख्य बढ्ने बुलेटिनमा उल्लेख छ।

ठूला नदीमा तत्काल ठूलो जोखिम नरहे पनि बुधबार देशका विभिन्न ३१ जिल्लाका स-साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, मोरङ, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, धनकुटा, भोजपुर र खोटाङमा स-साना नदीको बहाव बढ्न सक्नेछ।

त्यस्तै, बागमती प्रदेशका दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं उपत्यका, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ र चितवन तथा गण्डकी प्रदेशका गोरखा, तनहुँ, कास्की, लमजुङ र नवलपरासी पूर्वका स-साना नदीमा जलसतह बढ्ने पूर्वानुमान गरिएको छ। उदयपुर आसपासका क्षेत्रमा पनि स-साना नदीको बहाव उल्लेख्य बढ्न सक्नेछ।

महाशाखाका अनुसार बिहीबार असोज ८ गते कोशी, बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेश भएर बहने केही स-साना नदीमा बहाव आकस्मिक रूपमा बढ्न सक्नेछ। असोज ९ गते भने सातै प्रदेशका केही स-साना नदीमा बहाव आकस्मिक बढ्ने सम्भावना छ। नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई मौसम तथा बाढीको अवस्था हेरेर सतर्क रहन र सुरक्षित स्थानमा जान महाशाखाले आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×