
झापा । झापाको अर्जुनधारामा तीव्र गतिमा रहेको मोटरसाइकलको ठक्करबाट बुधबार राति पैदलयात्रीको मृत्यु भएको छ ।
अर्जुनधारा नगरपालिका–६ कप्ताबारीस्थित शनिश्चरे–बिर्तामोड सडकखण्डमा बुधबार साँझ करिब ७ बजेतिर दुर्घटना भएको हो । शनिश्चरेबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश १–०१–०१७ प ६५२८ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट अर्जुनधारा नगरपालिका–८ का करिब ४५ वर्षीय साइँला माझी गम्भीर घाइते भएका थिए । उनको टाउको, दुवै हात र खुट्टामा चोट लागेको थियो ।
घाइते माझीलाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा बुधबार राति ११ः५० बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–१ का २८ वर्षीय सुमन लिम्बू र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना प्रहरीले जनाएको छ ।

























