
काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत (भरतमणि) दाहाललाई तारेखमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ। दाहालको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उनलाई रिहा गरी तारेखमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरी प्रधान कार्यालय र साइबर ब्युरो, भोटाहिटीका नाममा परमादेश जारी गरेको हो।
यसअघि अदालतले दाहाललाई पक्राउ गर्नुपर्ने आधार र कारणसहित लिखित जवाफ पेस गर्न प्रहरीलाई आदेश दिएको थियो। साथै आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र अनुसन्धान मिसिलसहित दाहाललाई अदालतमा उपस्थित गराउन भनेको थियो। सोही आदेशअनुसार दाहाललाई आज अदालतमा उपस्थित गराइएको थियो।
दाहाललाई प्रहरीले आइतबार मोरङको बेलबारीबाट पक्राउ गरेको थियो। आफ्नो युट्युब च्यानलमार्फत भूराजनीति र उच्च राजनीतिक व्यक्तिहरूबारे भ्रामक प्रचार गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको थियो।

























