
काठमाडौं । समानान्तर महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले मधेश प्रदेशका पाँच जिल्लामा संयोजक तोकेको छ।
पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई महाधिवेशन आयोजकको जिम्मेवारी दिएर समानान्तर महाधिवेशनको तयारी गरिरहेको समूहले यसअघि ५५ जिल्लामा संयोजक तोकिसकेको जनाएको छ।
समूहको सम्पर्क कार्यालयका अनुसार संयोजकको हैसियतमा डा. कोइरालाको हस्ताक्षरमा सप्तरीमा सुरेन्द्र यादव, सिरहामा सन्तोषकुमार चौधरी, धनुषामा कोमलकान्त झा, बारामा राजेश राय यादव र पर्सामा विजय कर्णलाई जिल्ला संयोजक तोकिएको हो। उनीहरूलाई जिम्मेवारीसम्बन्धी पत्रसमेत प्रदान गरिएको कार्यालयले जनाएको छ।
देउवा समूहले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ।

























