
काठमाडौं । लगातारको वर्षाका कारण नेपाल एसियाली खेलकुदअन्तर्गत पुरुष टी–२० क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।
नेपाल र श्रीलंकाबीच मंगलबार जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा हुने भनिएको क्वार्टरफाइनल खेल वर्षाका कारण रद्ध भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । अविरल वर्षाका कारण मैदान खेलका लागि तयार हुन नसकेपछि टससमेत हुन सकेन ।
क्वार्टरफाइनल खेल रद्ध भएपछि श्रीलंका सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणमा नेपालको भन्दा राम्रो स्थिति भएकाले श्रीलंकाले अर्को चरणमा स्थान बनाएको हो । श्रीलंकाले अब सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाल समूह ‘ए’को शीर्ष स्थानमा रहँदै क्वार्टरफाइनलमा पुगेको थियो । समूह चरणको पहिलो खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो । जापानसँगको खेल भने वर्षाकै कारण पूरा हुन सकेको थिएन ।
यसअघि सोमबार भएका दुई क्वार्टरफाइनल खेल पनि वर्षाका कारण रद्ध भएका थिए । खेल हुन नसकेपछि भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका थिए भने अफगानिस्तान र हङकङ प्रतियोगिताबाट बाहिरिएका थिए ।
नेपालले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै क्वार्टरफाइनलमा स्थान बनाए पनि वर्षा बाधक बनेपछि खेल नै नखेली प्रतियोगिताबाट बाहिरिनु परेको हो ।



















