मोरङ प्रहरीको हिरासतमा अचेत भेटिएका कोइरालाको मृत्यु

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १३, मंगलबार ११:३४

विराटनगर । विराटनगरमा तास खेल्दै गरेको अवस्थामा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएका एक जनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइरालाको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो । हिरासतभित्रै बिहान ७ः३० बजेतिर अचेत अवस्थामा भेटिएपछि उनलाई तत्काल उपचारका लागि कोशी अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको थियो ।

Advertisement

नोबेल शिक्षण अस्पतालमा उपचारकै क्रममा मंगलबार बिहान करिब ११ बजेतिर चिकित्सकले कोइरालालाई मृत घोषणा गरेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए । उनका अनुसार तत्काल शव नोबेल अस्पतालमै राखिएको छ ।

विराटनगर–६ सरोचियास्थित लालु पासवानको घरमा तास खेलिरहेको अवस्थामा कोइरालासहित आठ जनालाई प्रहरीले सोमबार राति पक्राउ गरेको थियो । राति करिब ११ः३० बजे पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको थियो ।

हिरासतमा सँगै रहेका साथीहरुले मंगलबार बिहान करिब ७ः३० बजेतिर चिया खान उठाउँदा कोइराला नबोलेपछि तत्काल अस्पताल लगिएको थियो । डीएसपी मिश्रले कोइराला हिरासतभित्रै अचेत अवस्थामा भेटिएपछि तत्काल अस्पताल पुर्‍याइएको बताए ।

प्रहरीका अनुसार दुर्घटनामा परेका कोइरालाको यसअघि नै टाउकाको शल्यक्रिया भएको पाइएको थियो । उनी यसअघि पनि तास खेल्दै गरेको अवस्थामा पक्राउ परेको प्रहरीको भनाइ छ । उनको मृत्युको कारण भने तत्काल खुल्न सकेको छैन । घटनाको थप अनुसन्धान भइरहेको मिश्रले बताए ।

प्रहरीको गस्ती टोलीलाई देखेपछि लालु पासवानको घरमा तास खेलिरहेका व्यक्तिहरु भागेका थिए । रातको समयमा होहल्ला गर्दै मानिसहरु भागिरहेको देखेपछि घटनास्थल पुगेको प्रहरीले तास खेलिरहेका आठ जनालाई पक्राउ गरेको थियो ।

प्रहरीबाट उम्किने क्रममा घरको दुई तला माथिबाट हामफाल्दा विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखियाको दाहिने खुट्टा भाँचिएको थियो । घरबाट जमिनमा खसेर घाइते भएका मुखियाको विराटनगरस्थित श्री अस्पतालमा उपचार भइरहेको छ । एम्बुलेन्स चालकसमेत रहेका मुखियाको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।

कोइराला र मुखियासँगै मोरङको धनपालथान गाउँपालिका–६ का ३३ वर्षीय साजन राजवंशी, विराटनगर–४ का ५२ वर्षीय सत्यनारायण राजवंशी, ४८ वर्षीय तोरण यादव, विराटनगर–६ का २६ वर्षीय राजेश कामत, ५३ वर्षीय गंगाराम मण्डल र ४३ वर्षीय विष्णु कामत पक्राउ परेका थिए । पक्राउ परेका अन्यमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । प्रहरीले पक्राउ परेकाहरुको साथबाट तासका साथै ४८ हजार ३ सय ९५ रुपैयाँ नगद बरामद गरिएको जनाएको छ ।

विराटनगरमा तास खेल्दा पक्राउ परेका कोइराला हिरासतमै अचेत, गम्भीर अवस्थामा उपचार हुँदै

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×