विराटनगर । विराटनगर जुनियर जेसीजको आयोजनामा सम्पन्न अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा एभरेस्ट सेकेन्डरी स्कुलका एरिनजंग थापा प्रथम भएका छन् ।
प्रतियोगितामा पोलस्टार सेकेन्डरी स्कुलकी प्रकृति घिमिरे द्वितीय र बालकल्याण विद्या मन्दिर (बीकेभीएम) का जोसेफ महतो तृतीय भए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरूले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँका साथै प्रमाणपत्र, ट्रफी र मेडल प्राप्त गरे ।
विराटनगर जुनियर जेसीजका अध्यक्ष ओम जोगीको अध्यक्षतामा भएको प्रतियोगितामा १५ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
सहभागी बनौँ, रूपान्तरण हुँदै अगाडि बढौँ, उत्कृष्टता हासिल गरौँ’ भन्ने शीर्षकमा आयोजना गरिएको सो कार्यक्रममा विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष एवं पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल प्रमुख अतिथि रहेका थिए । प्रतियोगिताको निर्णायक मण्डलमा साहित्यकार सीमा आभास, प्राध्यापक अनुज शर्मा र विराटनगर जुनियर जेसीजका पूर्वअध्यक्ष देवेश प्रधान रहेका थिए ।