
विराटनगर । नेपाली कांग्रेस मोरङले पार्टीको १५ औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनमा भएको सांघातिक आक्रमण, कुटपिट र तोडफोडको भर्त्सना गर्दै घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ ।
सुन्दरहरैँचा नगरपालिका–४ स्थित सिग्देल बन्धु प्रतिष्ठानको भवनमा बुधबार आयोजित क्षेत्रीय अधिवेशनका क्रममा भएको घटनाले अधिवेशनको लोकतान्त्रिक प्रक्रिया अवरुद्ध पार्ने काम भएको कांग्रेस मोरङ जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले जारी गरेको विज्ञप्तिमा अधिवेशन लोकतान्त्रिक अभ्यासको मेरुदण्ड भएकाले हिंसा, धम्की र अराजकतामार्फत त्यसलाई प्रभावित पार्ने प्रयास स्वीकार्य नहुने उल्लेख गरिएको छ ।
विज्ञप्तिमा घटनालाई पार्टीको विधान, लोकतान्त्रिक मूल्य–मान्यता र पार्टी हितविपरीतको गम्भीर अनुशासनहीनता भन्दै संलग्न व्यक्तिमाथि तत्काल कारबाही प्रक्रिया अघि बढाउन केन्द्रीय नेतृत्वसँग माग गरिएको छ ।
कांग्रेस मोरङले घटनामा संलग्न व्यक्तिलाई तत्काल निलम्बन गरी दोष प्रमाणित भए पार्टी विधानबमोजिम कडा कारबाही गर्न माग गरेको छ । साथै, हिंसात्मक घटनाका कारण प्रभावित भएको अधिवेशन प्रक्रिया निष्पक्ष, सुरक्षित र लोकतान्त्रिक वातावरणमा तत्काल अगाडि बढाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
पार्टी कब्जा गर्ने, अधिवेशन भाँड्ने तथा लोकतान्त्रिक अभ्यासलाई कमजोर पार्ने प्रवृत्तिविरुद्ध कांग्रेस मोरङ दृढतापूर्वक उभिने विज्ञप्तिमा उल्लेख छ । ‘विधि, विधान र पद्धतिभन्दा माथि कोही छैन’ भन्दै विज्ञप्तिमा त्यसभन्दा माथि कोही रहेको मान्यता स्वीकार गर्न नसकिने स्पष्ट पारिएको छ । घटनामा घाइते भएका नेता तथा कार्यकर्ताको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।


























