
कैलाली । कैलालीमा भारतबाट अवैध रूपमा ल्याउँदै गरिएको सामान नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ परेका छन् । आक्रमणको आरोपमा तीन जना पक्राउ परेका हुन् । घटनामा दुई जना प्रहरी घाइते भएका थिए ।
भारतबाट मोटरसाइकलमा सामान ल्याउँदै गरेको अवस्थामा बिहीबार दिउँसो नियन्त्रणमा लिन खोज्दा भजनी नगरपालिका–३ स्थित ठेकीपुर चोकमा प्रहरीमाथि नै आक्रमण भएको थियो । आक्रमणमा इलाका प्रहरी कार्यालय भजनीमा कार्यरत प्रहरी हवल्दार विनयप्रसाद चौधरी र प्रहरी जवान देवराज जोशी घाइते भएका छन् ।
कैलाली प्रहरीका सूचना अधिकारी डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार चौधरीको हात र जोशीको अनुहारमा चोट लागेको छ । दुवै जनाको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
प्रहरीमाथि आक्रमण गरेको आरोपमा भजनी नगरपालिका–३ पडरियाका लोकबहादुर, धन्या र गम्भीर साउद पक्राउ परेका हुन् । उनीहरूलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाइएको तिमिल्सिनाले बताए ।
प्रहरीका अनुसार अवैध सामान ओसारपसारमा प्रयोग गरिएका से ४ प ११७१ र सुपप्र ०१–०११ प ६४१ नम्बरका दुईवटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ । घटनामा संलग्न केही व्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

























