
विराटनगर । विराटनगरको हाजी आँखा अस्पतालका सञ्चालक मन्नुकुमार गुप्ताले सेयर बिक्रीबापतको १ करोड ५८ लाख रुपैयाँ भुक्तानी नगरेको आरोप सेयरधनीहरुले लगाएका छन् ।
सेयर बिक्री गरेको ११ महिना बितिसक्दा पनि रकम नपाएको भन्दै उनीहरूले न्यायका लागि पहल गरिदिन माग गरेका हुन् । अस्पतालका १६ जना सञ्चालकमध्ये गुप्ताबाहेक सबैले सेयर बिक्री गरेको र बिक्रीबापतको रकम भुक्तानी हुन बाँकी रहेको उनीहरुले बताएका छन् ।
उनीहरूका अनुसार डा. गुणराज कट्टेलको ५ लाख ७८ हजार रुपैयाँ, जेउल कमरको १९ लाख ६२ हजार ६०७ रुपैयाँ, राजेश साहको ३० लाख ६३ हजार ४०० रुपैयाँ र मो. अतहर अन्सारीको ५० लाख ८० हजार १५६ रुपैयाँ पाउन बाँकी छ ।
उनीहरुले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै २०८२ मंसिर ५ गतेको चेक गत वर्षको जेठमा आफूहरूलाई दिइएको बताएका छन् । तर, चेक साट्न खोज्दा खातामा पर्याप्त रकम नभएको र पटकपटक रकम माग गर्दा पनि भुक्तानी नपाएको उनीहरूको भनाइ छ ।

सेयरधनीमध्येका मो. अतहर अन्सारीको पक्षमा गत असोज २ गते उच्च अदालत विराटनगरले निर्णय गरे पनि अहिलेसम्म रकम भुक्तानी नभएको उनीहरूले बताएका छन् । अदालतको आदेशपछि गुप्ताले कालोसूचीमा पर्नबाट जोगिन १ करोड ५८ लाख रुपैयाँ कुमारी बैंक विराटनगरमा जम्मा गरेको र त्यसपछि कालोसूचीबाट हटाउन बैंकका कर्मचारीले आफूहरूलाई निवेदन फिर्ता लिन लगाएको उनीहरु बताउँछन् ।
तर, निवेदन फिर्ता लिएपछि पनि रकम नपाएको सेयरधनीहरुले बताएका छन् । घटनामा गुप्तासँग मिलेमतो गरेको आरोप लागेका बैंकका कर्मचारीमाथिसमेत छानबिन गरी कारबाही गर्नुपर्ने उनीहरूको माग छ । न्यायका लागि आफूहरूले सोमबार प्रहरीमा उजुरी दिने तयारी गरिएको बताए ।
अस्पतालका सञ्चालक गुप्ताले भने सेयरबापतको सबै रकम सम्बन्धित सबैलाई फिर्ता गरिसकेको दाबी गरे । उनले उहाँले कसैको पनि रकम बाँकी नरहेको बताए । ‘उनीहरूले मेरो बेइज्जत गर्न खोजेका हुन् । मसँग सबै प्रमाण छ । मुद्दा अदालतमा चलिरहेको छ,’ गुप्ताले भने ।

























