कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १९, सोमबार १४:५३

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनमा चुनावअघि कुनै पनि दलसँग गठबन्धन नगरी आफ्नै चुनाव चिह्न रुखमा उम्मेदवार उठाएर एक्लै प्रतिस्पर्धा गर्ने नीति अघि सारेको छ । काठमाडौंमा जारी १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ नामक राजनीतिक प्रस्तावमा पार्टीको संगठन, निर्वाचन प्रणाली, आर्थिक पारदर्शिता र समावेशितासहितका विषयमा विभिन्न संकल्प अघि सारिएका छन् ।

प्रस्तावमा विगतका निर्वाचनमा गठबन्धन गर्दा कांग्रेसको पहिचान र जनसम्बन्ध कमजोर भएको निष्कर्ष निकाल्दै निर्वाचनपूर्व गठबन्धन नगर्ने उल्लेख छ । आफ्नै चिह्न, कार्यक्रम र उम्मेदवारसहित प्रतिस्पर्धा गर्दै जित्न योग्य पार्टी बन्ने कांग्रेसको प्रतिबद्धता छ । राष्ट्रिय मुद्दा, संविधानको रक्षा, विपद्, राष्ट्रिय सुरक्षा, न्याय र सार्वजनिक हितका विषयमा अन्य दलसँग सहकार्य गर्न सकिने भए पनि त्यसलाई सत्ता वा संस्थाको भागबन्डामा परिणत नगर्ने नीति लिइएको छ ।

कांग्रेसले निर्वाचन र पार्टी सञ्चालनमा हुने खर्च पारदर्शी बनाउन कडा वित्तीय अनुशासन लागू गर्ने प्रस्ताव गरेको छ । पार्टीका सबै तहलाई स्वीकृत वार्षिक तथा कार्यक्रमगत बजेटअनुसार सञ्चालन गर्ने, सम्पत्तिको प्रमाणित अभिलेख राख्ने, एउटै लेखा नीति अपनाउने र नियमित सार्वजनिक लेखापरीक्षण गर्ने प्रस्ताव छ । मतका आधारमा राजनीतिक दललाई राज्यकोषबाट निश्चित वित्तीय सहयोग दिने व्यवस्था अघि बढाउन आवश्यक कानुनी तथा वित्तीय बहस गर्ने पनि कांग्रेसले जनाएको छ ।

उम्मेदवार छनोटमा केन्द्रको एकाधिकार अन्त्य गर्दै सम्बन्धित तहबाटै उम्मेदवार छनोट गर्ने र प्राइमरी निर्वाचनको व्यवस्था गर्ने प्रस्ताव छ । पैसा, पहुँच र नेतृत्वसँगको निकटताको सट्टा योग्यता, सामुदायिक योगदान, नैतिक आचरण तथा सदस्य, समर्थक र शुभेच्छुकको सहभागितालाई आधार बनाउने उल्लेख छ । पार्टी सभापति पनि करिब ९ लाख साधारण सदस्यको प्रत्यक्ष मतदानबाट चयन हुने प्रणाली अघि बढाउने प्रस्ताव गरिएको छ ।

पार्टीमा पाँच पुस्तालाई जोड्न १८ वर्षभन्दा माथि र २१ वर्षभन्दा कम उमेरका युवालाई समेटेर युथ काउन्सिल तथा पाका पुस्ताको अनुभव लिन विसडम काउन्सिल गठन गर्ने प्रस्ताव छ । दुवै काउन्सिलले सभापतिसँग प्रत्यक्ष संवाद र परामर्श गर्नेछन् ।

हरेक तहमा कम्तीमा ३३ प्रतिशत महिला पदाधिकारी सुनिश्चित गर्ने तथा युवा, श्रमिक, मधेसी, दलित, आदिवासी जनजाति, थारू, मुस्लिम, अपांगता भएका व्यक्ति र लैंगिक तथा यौनिक अल्पसंख्यकको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने नीति पनि प्रस्ताव गरिएको छ ।

कांग्रेसले निर्वाचनमा ‘नो भोट’को विकल्प, विदेश वा स्थायी निर्वाचन क्षेत्रबाहिर रहेका नागरिकलाई मतदानको पहुँच, घुम्ती आरक्षित निर्वाचन क्षेत्र र प्रतिनिधित्व सुधारका विषयमा बहस अघि बढाउने जनाएको छ । पार्टी आन्दोलनका क्रममा शिक्षा, जीविका वा अवसर गुमाएका सहिद, द्वन्द्वपीडित र घाइतेका परिवारका लागि १० करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने तथा जातीय विभेद, बालविवाह, लैंगिक हिंसा, भ्रष्टाचार र असमानताविरुद्ध काम गर्न ‘एनसी फर एनसी’ अभियान सञ्चालन गर्ने प्रस्ताव पनि छ ।

यसैगरी, पार्टीमा परिवारवाद अन्त्य गर्दै राजनीतिक अवसर पारिवारिक उत्तराधिकारमा नसर्ने र परिवारसँगको निकटतालाई योग्यता तथा योगदानको विकल्प बन्न नदिने प्रतिबद्धता जनाइएको छ । पार्टी सदस्यलाई नीति निर्माण, उम्मेदवार छनोट र नेतृत्व चयनमा प्रत्यक्ष सहभागी गराई कांग्रेसलाई केही नेताको नियन्त्रणमा रहेको पार्टीको सट्टा सहभागितामूलक लोकतान्त्रिक संगठन बनाउने थापाको प्रस्ताव छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×