
काठमाडौं । सरकारले भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बजेट आवश्यक पर्ने ठहर गर्दै स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अध्यक्षतामा आज (सोमबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले उक्त रकमका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो ।
पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय तथा निकायबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रम कार्यान्वयन गरिनेछ । ती योजनाका लागि आवश्यक बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय बैठकले गरेको हो ।
बैठकमा प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनको काम संघ, प्रदेश र स्थानीय सरकारको आपसी समन्वयमा भइरहेको उल्लेख गर्दै अब पुनर्निर्माण तथा पुनर्स्थापनाका काम पनि सोही समन्वयमा अघि बढाइने बताए ।
गत भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको थियो ।



















