विराटनगरमा वृहत्तर खानेपानी परियोजना अन्तिम चरणमा

Share this
661shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २०, मंगलबार १३:२४

विराटनगर । विराटनगर महानगरपालिकाको पहलमा अघि बढाइएको बृहत्तर खानेपानी परियोजना सञ्चालनको अन्तिम चरणमा पुगेको छ । परियोजना सम्पन्न भएपछि दसैँअघि नै विराटनगरवासीले नयाँ प्रणालीमार्फत दैनिक एक करोड लिटरभन्दा बढी खानेपानी पाउने भएका छन् ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को करिब २ अर्ब ५४ करोड रुपैयाँ अनुदानमा सञ्चालित परियोजनाको मुख्य निर्माण कार्य सम्पन्न भइसकेको नेपाल खानेपानी संस्थान विराटनगरले जनाएको छ । अब विद्युत् जडानलगायत केही प्राविधिक काम मात्र बाँकी छन् । ती काम सकेर करिब २५ दिनभित्र परियोजना हस्तान्तरण गर्ने तयारी छ ।

संस्थानका प्रमुख सन्तोष रौनियारका अनुसार निर्धारित समयभन्दा अगावै अधिकांश निर्माण कार्य सकिएको हो । सन् २०२६ अक्टोबरसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि काम छिटो सकिएपछि दशैंअघि नै नयाँ प्रणाली सञ्चालनमा ल्याउने तयारी गरिएको उनले बताए ।

हाल विराटनगरमा दैनिक करिब ९० लाख लिटर खानेपानी वितरण हुँदै आएको छ । परियोजना सञ्चालनमा आएपछि उत्पादन तथा वितरण क्षमता बढेर दैनिक एक करोड लिटरभन्दा बढी पुग्ने संस्थानले जनाएको छ ।

परियोजनाअन्तर्गत पुराना संरचनाको सुधारसँगै नयाँ ओभरहेड ट्यांकी, पाइपलाइन विस्तार, फिल्टर प्रणाली तथा विद्युत् आपूर्ति क्षमता वृद्धि गरिएको छ । देवकोटा चोक, तीनपैनी, मुनालपथ र विराटनगर–५ को कोचाखाल पश्चिममा रहेका संरचनामार्फत पानी वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

हाल संस्थानका विराटनगरमा करिब १३ हजार २ सय ग्राहक छन् । नयाँ प्रणाली सञ्चालनमा आएपछि थप उपभोक्तालाई खानेपानीको पहुँचमा ल्याउन र बढ्दो जनसंख्याको माग धान्न सहज हुने अपेक्षा गरिएको छ ।

परियोजनाका लागि आवश्यक जग्गा, सडक तथा विद्युत् पूर्वाधार व्यवस्थापनमा महानगरपालिकाले सहजीकरण गरेको थियो । सडक खन्ने, विद्युत् जडान तथा स्थानीयस्तरमा देखिएका अवरोध समाधान गर्न महानगरले पहल गरेको संस्थानका प्रमुख रौनियारले बताए ।

महानगरका मेयर नागेश कोइरालाले परियोजना सफल बनाउन स्थानीयस्तरमा देखिएका समस्या समाधान गर्दै अघि बढेको बताए । उनले परियोजना सञ्चालनमा आएपछि विराटनगरवासीले लामो समयदेखि भोग्दै आएको खानेपानीको अभाव, अनियमितता र गुणस्तरसम्बन्धी समस्या कम हुने अपेक्षा व्यक्त गरे ।

लामो समयदेखि पर्याप्त र नियमित खानेपानीको समस्या झेल्दै आएका विराटनगरवासीका लागि परियोजना सञ्चालनले राहत पुग्ने अपेक्षा गरिएको छ । महानगरले अघि सारेको ‘शुद्ध खानेपानीसहितको व्यवस्थित विराटनगर’ बनाउने योजनालाई पनि परियोजनाले टेवा पुग्ने जनाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×