
विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर र नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयबीच विद्यार्थीलाई इन्टर्नसीपको अवसर प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार क्याम्पसमा अध्ययनरत विद्यार्थीले प्राधिकरणको कोशी प्रदेश कार्यालयमा इन्टर्नसिप गर्ने अवसर पाउनेछन् । यसबाट विद्यार्थीले बीमा क्षेत्रको संस्थागत संरचना, कार्यप्रणाली, नीति, सेवा प्रवाह तथा नियमनबारे प्रत्यक्ष अनुभव हासिल गर्ने अपेक्षा गरिएको छ ।
नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख राजेन्द्र महर्जनले इन्टर्नसिपबाट विद्यार्थीले बीमाको वस्तुस्थिति बुझ्न तथा भविष्यमा बीमा क्षेत्रमा अनुसन्धान र रोजगारीका लागि आवश्यक ज्ञान र अनुभव हासिल गर्न सहयोग पुग्ने बताए । उनले सम्झौता शिक्षा र व्यावसायिक क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।
महर्जनका अनुसार प्राधिकरणले शैक्षिक संस्थासँगको सहकार्यमा विद्यार्थीलाई बीमासम्बन्धी शिक्षा तथा सचेतना प्रदान गर्ने कार्यक्रमलाई समेत निरन्तरता दिनेछ । क्याम्पस प्रमुख डा. रामावतार शरणले सम्झौताले विद्यार्थीको शैक्षिक विकाससँगै व्यावहारिक दक्षता अभिवृद्धिमा सहयोग पुग्ने बताए । प्राध्यापक अच्युतराज कट्टेलले अध्ययनकै क्रममा विद्यार्थीले कार्यक्षेत्रको अनुभव हासिल गर्न सके क्षमता, आत्मविश्वास र व्यावसायिक दक्षता बढ्ने बताए ।
प्राधिकरणले बीमा क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन, बीमा सचेतना वृद्धि तथा युवा पुस्तामा बीमासम्बन्धी ज्ञान विस्तारलाई प्राथमिकता दिँदै आएको जनाएको छ । इन्टर्नसिप कार्यक्रमले विद्यार्थीलाई बीमा, बैंकिङ तथा वित्तीय क्षेत्रमा करियर निर्माणका लागि आवश्यक सीप र अनुभव हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

























