
काठमाडौं । विभिन्न जिल्लामा बाढीपहिरोका कारण अवरुद्ध सडक मंगलबार पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । प्रहरीका अनुसार रसुवा, म्याग्दी, मनाङ र नवलपरासी पूर्वका विभिन्न सडकमा यातायात प्रभावित भएको छ ।
रसुवाका मुख्य राजमार्गहरू बाढीका कारण गत भदौ १० गतेदेखि नै पूर्ण रूपमा अवरुद्ध छन् । म्याग्दीको बेनी–जोमसोम सडकखण्ड पनि पहिरोका कारण असोज १० गतेदेखि अवरुद्ध रहेको प्रहरीले जनाएको छ । मनाङको खाङसार–बेँसीसहर सडकखण्ड पनि पूर्ण रूपमा बन्द छ । असोज ९ गते राति आएको बाढीले बेँसीसहर हुँदै खाङसार जाने सडकमा क्षति पुर्याएपछि उक्त सडक अझै सञ्चालनमा आउन सकेको छैन ।
यस्तै, नवलपरासी पूर्वको कालीगण्डकी करिडोरअन्तर्गत बौदीकाली गाउँपालिका–३ जन्तीमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा छ। उक्त सडकखण्डमा ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । प्रहरीका अनुसार कालीगण्डकी करिडोरको जन्ती सडक असोज १४ गतेदेखि एकतर्फी सञ्चालनमा छ ।

























