संवैधानिक इजलास गठनमा वरिष्ठता वा गोलाप्रथा लागू गर्न बारको माग

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २१, बुधबार १५:१२

काठमाडौं । नेपाल बार एसोसिएसनले संवैधानिक इजलास गठनमा वरिष्ठता वा गोलाप्रथा प्रणाली लागू गर्न माग गरेको छ । बारले आज (बुधबार) विज्ञप्ति जारी गर्दै संवैधानिक इजलास वरिष्ठताका आधारमा गठन गरिनुपर्ने र त्यसो गर्न वस्तुगत रूपमा सम्भव नभए गोलाप्रथा प्रणाली अवलम्बन गर्नुपर्ने माग गरेको हो ।

संवैधानिक इजलास गठनलाई प्रधानन्यायाधीशको व्यक्तिगत तजबिजमा सीमित गर्ने प्रवृत्ति देखिएको भन्दै बारले आपत्ति जनाएको छ। स्पष्ट, वस्तुगत र पूर्वनिर्धारित मापदण्डबिना न्यायाधीश छनोट गर्दा न्यायिक निष्पक्षता र न्यायपालिकाको संस्थागत विश्वसनीयतामाथि प्रश्न उठ्न सक्ने बारको भनाइ छ ।

बारले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यकालमा इजलास गठन तथा न्यायिक प्रशासनमा देखिएको अपारदर्शी र मनोगत प्रवृत्तिविरुद्ध न्याय क्षेत्र आन्दोलनमा उत्रिएको स्मरणसमेत गराएको छ ।

संवैधानिक इजलास गठनमा मनोगत, मापदण्डविहीन र स्वेच्छाचारी अभ्यास अन्त्य गरी वरिष्ठता वा गोलाप्रथा प्रणाली लागू गर्नुपर्ने बारको माग छ ।

न्यायपालिका व्यक्तिको इच्छा वा तजबिजका आधारमा नभई स्पष्ट नियम, निष्पक्ष पद्धति र संस्थागत मर्यादाअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिँदै बारले आफ्नो संस्थागत सरोकारलाई बेवास्ता गरिए आवश्यक परे सशक्त संस्थागत प्रतिरोधमा उत्रने चेतावनीसमेत दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×