
विराटनगर । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी शेखर खनालले धनकुटामा शान्ति सुरक्षा मजबुत बनाउनलाई प्रहरी परिचालन बढाउन निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनकुटाको बुधबार निरीक्षण भ्रमणका क्रममा डीआईजी खनालले कार्यालय भवन, विभिन्न शाखा तथा हिरासत कक्षको निरीक्षण गर्दै यस्तो निर्देशन दिएका हुन् । उनले आम नागरिकलाई सहज, सरल, पहुँचयोग्य र प्रभावकारी प्रहरी सेवा उपलब्ध गराउन विशेष ध्यान दिन निर्देशन दिए ।
नागरिकका समस्या, पीरमर्का र गुनासाको तत्काल सुनुवाइ गर्दै प्रहरी र नागरिकबीचको सम्बन्ध थप सुदृढ बनाउन नियमित गस्ती परिचालन गर्न तथा समुदायसँग निरन्तर समन्वय र सहकार्य गर्न उनले जोड दिए । धनकुटाका डाँडापाखामा आफैं उम्रिएका तथा लगाइएका गाँजाका बोटबिरुवा फँडानी गरी नष्ट गर्न सक्रिय रूपमा प्रहरी परिचालन गर्न पनि उनले निर्देशन दिए ।

लागुऔषधको प्रयोग तथा ओसारपसार नियन्त्रणमा प्रहरी कर्मचारी थप जिम्मेवार भएर काम गर्नुपर्ने उनको भनाइ थियो । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै जिल्लाको शान्ति सुरक्षा व्यवस्था थप मजबुत बनाउन आवश्यकताअनुसार प्रहरी जनशक्ति परिचालन गर्न उनले निर्देशन दिए । मुख्य बजार, बसपार्क, सार्वजनिक स्थल तथा बढी भीडभाड हुने क्षेत्रमा प्रहरीको उपस्थिति बढाउनुपर्ने उनले बताए ।
यात्रुलाई सुरक्षित, सहज र व्यवस्थित रूपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउन बसपार्क तथा यात्रुको बढी भिड हुने स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्न, सवारीसाधनको नियमित अनुगमन गर्न तथा सम्भावित दुर्घटना र आपराधिक गतिविधि नियन्त्रणका लागि प्रभावकारी सुरक्षा योजना बनाएर कार्यान्वयन गर्न पनि खनालले निर्देशन दिएका छन् ।

निरीक्षण भ्रमणकै क्रममा डीआईजी खनालले धनकुटाका स्थानीयबासी, नागरिक समाजका प्रतिनिधि तथा पूर्वप्रहरी कर्मचारीसँग भेटघाट र अन्तरक्रिया गरेका थिए । उनले धनकुटा नगरपालिका–१ हिले निवासी ८० वर्षीय पूर्वप्रहरी जवान प्रेमबहादुर तामाङलाई प्रहरी सेवामा पुर्याएको योगदानको उच्च कदर गर्दै उनकै निवासमा पुगेर दोसल्ला ओढाई सम्मानसमेत गरेका थिए ।
यसअघि डीआईजी खनालले जिल्ला प्रहरी कार्यालय तेह्रथुमको पनि निरीक्षण भ्रमण गरेका थिए । तेह्रथुमको म्याङ्लुङ नगरपालिका–१ निवासी ८० वर्षीय पूर्वप्रहरी हवल्दार गंगाप्रसाद लिम्बूलाई उनले प्रहरी सेवामा रहँदा पुर्याएको योगदानको कदर गर्दै जिल्ला प्रहरी कार्यालय तेह्रथुमको सभाहलमा दोसल्ला ओढाएर सम्मान गरेका छन् ।


























