धनकुटामा प्रहरी परिचालन बढाउन डीआईजी खनालको निर्देशन

Share this
793shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २१, बुधबार १७:५९

विराटनगर । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी शेखर खनालले धनकुटामा शान्ति सुरक्षा मजबुत बनाउनलाई प्रहरी परिचालन बढाउन निर्देशन दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटाको बुधबार निरीक्षण भ्रमणका क्रममा डीआईजी खनालले कार्यालय भवन, विभिन्न शाखा तथा हिरासत कक्षको निरीक्षण गर्दै यस्तो निर्देशन दिएका हुन् । उनले आम नागरिकलाई सहज, सरल, पहुँचयोग्य र प्रभावकारी प्रहरी सेवा उपलब्ध गराउन विशेष ध्यान दिन निर्देशन दिए ।

नागरिकका समस्या, पीरमर्का र गुनासाको तत्काल सुनुवाइ गर्दै प्रहरी र नागरिकबीचको सम्बन्ध थप सुदृढ बनाउन नियमित गस्ती परिचालन गर्न तथा समुदायसँग निरन्तर समन्वय र सहकार्य गर्न उनले जोड दिए । धनकुटाका डाँडापाखामा आफैं उम्रिएका तथा लगाइएका गाँजाका बोटबिरुवा फँडानी गरी नष्ट गर्न सक्रिय रूपमा प्रहरी परिचालन गर्न पनि उनले निर्देशन दिए ।

लागुऔषधको प्रयोग तथा ओसारपसार नियन्त्रणमा प्रहरी कर्मचारी थप जिम्मेवार भएर काम गर्नुपर्ने उनको भनाइ थियो । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै जिल्लाको शान्ति सुरक्षा व्यवस्था थप मजबुत बनाउन आवश्यकताअनुसार प्रहरी जनशक्ति परिचालन गर्न उनले निर्देशन दिए । मुख्य बजार, बसपार्क, सार्वजनिक स्थल तथा बढी भीडभाड हुने क्षेत्रमा प्रहरीको उपस्थिति बढाउनुपर्ने उनले बताए ।

यात्रुलाई सुरक्षित, सहज र व्यवस्थित रूपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउन बसपार्क तथा यात्रुको बढी भिड हुने स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्न, सवारीसाधनको नियमित अनुगमन गर्न तथा सम्भावित दुर्घटना र आपराधिक गतिविधि नियन्त्रणका लागि प्रभावकारी सुरक्षा योजना बनाएर कार्यान्वयन गर्न पनि खनालले निर्देशन दिएका छन् ।

निरीक्षण भ्रमणकै क्रममा डीआईजी खनालले धनकुटाका स्थानीयबासी, नागरिक समाजका प्रतिनिधि तथा पूर्वप्रहरी कर्मचारीसँग भेटघाट र अन्तरक्रिया गरेका थिए । उनले धनकुटा नगरपालिका–१ हिले निवासी ८० वर्षीय पूर्वप्रहरी जवान प्रेमबहादुर तामाङलाई प्रहरी सेवामा पुर्‍याएको योगदानको उच्च कदर गर्दै उनकै निवासमा पुगेर दोसल्ला ओढाई सम्मानसमेत गरेका थिए ।

यसअघि डीआईजी खनालले जिल्ला प्रहरी कार्यालय तेह्रथुमको पनि निरीक्षण भ्रमण गरेका थिए । तेह्रथुमको म्याङ्लुङ नगरपालिका–१ निवासी ८० वर्षीय पूर्वप्रहरी हवल्दार गंगाप्रसाद लिम्बूलाई उनले प्रहरी सेवामा रहँदा पुर्‍याएको योगदानको कदर गर्दै जिल्ला प्रहरी कार्यालय तेह्रथुमको सभाहलमा दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

तपाइको प्रतिक्रिया
विपद्मा बेपत्ता भएकालाई ४५ दिनमै मृतक घोषणा गर्न सरकारको तयारी
‘कांग्रेसमा कुनै गुट छैन, सभापति र कार्यकर्ताको हैसियत बराबर’
कांग्रेस महाधिवेशन: नयाँ नेतृत्वका लागि बिहीबार बिहान १० बजेदेखि मतदान
तस्करीमा प्रयोग भएको आशंका : दुई भारतीय सवारीसाधन सशस्त्रको नियन्त्रणमा
जेनजी घाइतेलाई यातायातमा आधा भाडा, झापामा व्यवसायी र प्रशासनबीच सहमति
धनकुटामा प्रहरी परिचालन बढाउन डीआईजी खनालको निर्देशन
चालेन्द्रसहित निकट व्यक्तिका घरमा सम्पत्ति शुद्धीकरण विभागको टोली
विराटनगरमा २६औँ राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिता हुँदै
विराटनगरबाट पक्राउ परे भारतीय नागरिक, गाँजा बरामद
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
विराटनगरबाट केराबारीका दुई जना युवा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×