
काठमाडौं । काठमाडौंको काँडाघारीबाट गोली चलाएर पक्राउ गरिएका लुटेरा समूहका मुख्य नाइके आर्यन माझी २७ वटा डाँका-चोरीसम्बन्धी मुद्दामा संलग्न रहेको पाइएको छ । प्रहरीले बुधबार राति पौने १० बजेतिर गोली चलाएर माझीसहित तीन जनालाई पक्राउ गरेको थियो ।
माझी विभिन्न मितिमा जिल्ला प्रहरी परिसर भक्तपुर, इलाका प्रहरी कार्यालय बनेपा, काभ्रे र जिल्ला प्रहरी परिसर काठमाडौंमा डाँका–चोरीसम्बन्धी २७ वटा मुद्दामा पक्राउ परेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार पक्राउ परेका उनीहरू काठमाडौंका विभिन्न ठाउँमा लुटपाट तथा चोरीमा संलग्न थिए ।
बाटोमा हिँडिरहेका व्यक्तिको सिक्री लुट्नेलगायतका घटनामा समेत उनीहरूको संलग्नता देखिएको उनले बताए । पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–५ का राकेश थिङ र बकैया गाउँपालिका–७ का मनोजकुमार मोक्तान पनि छन् ।
थिङ लुटपाटका क्रममा मोटरसाइकलको पछाडि बसेका थिए भने मोक्तान मोटरसाइकल चलाउँदै थिए । एसएसपी घिमिरेका अनुसार उनीहरूलाई गम्भीर उत्तेजना वा आवेगमा कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो ।



















