
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको सक्रियतापछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादर भन्दा सस्तोमा टिकट बिक्री–वितरण गर्न सहमत भएका छन् ।
नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर बढाएको भन्ने गुनासो आएपछि प्रधानमन्त्री शाहले यसबारे चासो देखाएका थिए । त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आज (बिहीबार) सम्बन्धित आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो ।
उक्त छलफलपछि स्वीकृत भाडादर भन्दा सस्तोमा टिकट बिक्री–वितरण गर्ने, गराउने विषयमा वायुसेवा कम्पनीहरू सहमत भएका क्यानले जनाएको छ ।
क्यानका महानिर्देशक मुकेश डङ्गोलका अनुसार स्वीकृत भाडादर भन्दा सस्तोमा टिकट बिक्री–वितरण गर्ने र सो भाडादरबारे सूचना सम्बन्धित कम्पनीको बिक्री वितरण प्लेटफर्ममा प्रकाशन गर्ने सहमति भएको छ ।

























