
गोरखा । बुढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाको उत्तरी क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । बाढीले चुमनुब्री गाउँपालिकास्थित सल्लेरी बजार बगाएको छ भने जगत बजारमा समेत ठूलो क्षति पुर्याएको स्थानीयले बताएका छन् ।
स्थानीय विशाल घलेका अनुसार नदीमा आएको बाढीले सल्लेरी बजारलाई बगाउनुका साथै जगत बजारमा पनि व्यापक क्षति पुर्याएको छ । बाढीबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ ।
चुमनुब्री गाउँपालिकाको छेकम्पार क्षेत्रमा सुक्खा पहिरो खसेर बुढीगण्डकी नदी थुनिएपछि एक्कासि बाढी आएको हुन सक्ने आशंका गरिएको छ । आइतबार बिहानै नदीमा ठूलो आवाजसहित पानीको बहाव अस्वाभाविक रूपमा बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिए ।
बाढी तल्लो तटीय क्षेत्रतर्फ बढिरहेकाले नदी किनार तथा आसपासका जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई तत्काल सुरक्षित र अग्लो स्थानमा जान आग्रह गरिएको छ । सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै नदी आसपासका क्षेत्रमा नबस्नसमेत अनुरोध गरिएको छ । बाढीले पुर्याएको क्षति, सम्भावित मानवीय असर र उद्धारसम्बन्धी थप विवरण आउन बाँकी छ ।

























