
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादसैँ सादगीपूर्वक मनाउने भएका छन् । उनले यस वर्ष सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम नरहेको निर्मल निवासस्थित संवाद सचिवालयले जनाएको छ ।
सचिवालयले सूचना जारी गर्दै गत भदौमा हिमपहिरोपछि आएको भीषण बाढी र असोजमा परेको अविरल वर्षाका कारण मुलुकमा ठूलो जनधनको क्षति भएकाले दसैँ मनाउने शैलीमा परिवर्तन गरिएको जनाएको हो ।
सूचनामा प्राकृतिक विपत्तिका कारण हजारौँ मानिस विस्थापित हुनुका साथै सयौँको ज्यान गएको र ठूलो जनधनको अपूरणीय क्षति भएको उल्लेख छ । यस्तो असहज परिस्थितिलाई मध्यनजर गर्दै पूर्वराजा शाहले आफ्नो आस्था, मान्यता र मर्यादा कायम राख्दै यस वर्षको बडादसैँ सादगीपूर्वक मनाउने निर्णय गरेको सचिवालयले जनाएको छ ।
प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको अवस्थालाई ध्यानमा राखेर यस वर्ष दसैँमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम नराखिएको सचिवालयको सूचनामा उल्लेख छ ।

























