इनरुवा अस्पतालमा प्रसूति सेवा विवाद : पाँच सदस्यीय समितिले छानबिन गर्ने

Share this
653shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २५, आइतबार १७:५८

विराटनगर । प्रसव पीडामा छटपटाइरहेकी महिलालाई भर्ना नलिएको घटनामा सुनसरीको जिल्ला अस्पताल इनरुवा विवादमा तानिएपछि कोशी प्रदेश सरकारले छानबिन थालेको छ ।

स्वास्थ्य मन्त्रालयले घटनाको वास्तविकता पत्ता लगाउन पाँच सदस्यीय समिति गठन गर्दै विवादमा मुछिएका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सन्तोषप्रसाद साहलाई अस्पताल प्रमुखको जिम्मेवारीबाट हटाएको छ । असोज २१ गते राति प्रसव व्यथाले च्यापेपछि कोशी गाउँपालिका–३ की लालु सादालाई परिवारले इनरुवा अस्पताल पुर्‍याएका थिए ।

तर, अस्पतालले भर्ना लिन नमानेपछि उनलाई थप उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लैजानु परेको थियो । कोशी अस्पताल परिसरबाहिर पुग्ने क्रममा एम्बुलेन्सभित्रै उनले शिशुलाई जन्म दिएकी थिइन् ।

परिवारका अनुसार इनरुवा अस्पतालले आवश्यक कागजात नपुगेको र प्रसूतिको अवस्था उच्च जोखिममा रहेको भन्दै भर्ना लिन अस्वीकार गरेको थियो । पीडितले अस्पतालका स्वास्थ्यकर्मीले आवश्यक स्वास्थ्य जाँच र प्राथमिक उपचारसमेत नगरेको आरोप लगाएकी छन् ।

स्वास्थ्य संस्थामा प्रसव पीडामा रहेकी महिलाले समयमै उपचार र आवश्यक स्वास्थ्य सेवा पाउनुपर्ने अवस्थामा भर्ना नै नलिएको आरोप सार्वजनिक भएपछि मन्त्रालयले घटनालाई गम्भीर रूपमा लिएको हो । मन्त्रालयले प्रशासन महाशाखा प्रमुख (उपसचिव)को संयोजकत्वमा विषयविज्ञसहितको पाँच सदस्यीय छानबिन समिति गठन गरेको जनाएको छ ।

समितिले घटनाको सत्यतथ्य पत्ता लगाउने र अस्पतालको सेवा प्रवाहका क्रममा भएका गतिविधिका बारेमा छानबिन गर्नेछ । मन्त्रालयका जनस्वास्थ्य प्रशासक डा. सभ्यता पन्थीका अनुसार छानबिनको निष्कर्ष नआएसम्म प्रक्रियालाई प्रभावित हुन नदिन निमित्त मेसु साहलाई अस्पताल प्रमुखको जिम्मेवारीबाट अलग राखिएको हो ।

छानबिनबाट मेडिकल सुपरिटेन्डेन्ट, चिकित्सक, स्वास्थ्यकर्मी वा अन्य कर्मचारीको संलग्नता प्रचलित कानुनविपरीत देखिएमा सम्बन्धित व्यक्तिलाई कानुनअनुसार कडा कारबाही गरिने मन्त्रालयले जनाएको छ । समितिको छानबिनपछि प्रसूति सेवा लिन पुगेकी महिलालाई अस्पतालले भर्ना नलिनुको कारण, उपचार प्रक्रियामा भएको कमजोरी तथा जिम्मेवार पक्षका बारेमा थप तथ्य खुल्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×