
विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा असोज २७ र २८ गते विराटनगरमा आयोजना हुने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ को तयारी पूरा भएको छ । सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्री, मुख्य न्यायाधिवक्ता, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र प्रमुख सचिवहरूको सहभागिता रहनेछ ।
कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज (आइतबार) पत्रकार सम्मेलन गरी सम्मेलनको तयारी पूरा भएको जानकारी दिएको हो ।
संघीय शासन प्रणालीलाई प्रभावकारी बनाउँदै प्रदेशहरूबीच सहकार्य, समन्वय र साझेदारी विस्तार गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । सम्मेलनले संविधानले परिकल्पना गरेको सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित संघीयताको कार्यान्वयनलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
सम्मेलनमा प्रदेश सरकारहरूले शासन सञ्चालनका क्रममा हासिल गरेका उपलब्धि, अपनाएका सफल अभ्यास र सामना गरिरहेका साझा चुनौतीबारे छलफल हुनेछ । त्यस्तै, संविधानप्रदत्त प्रदेश अधिकारको प्रभावकारी कार्यान्वयन, संघ, प्रदेश र स्थानीय तहबीच अधिकार तथा जिम्मेवारीको स्पष्टता, कानुनी र नीतिगत सुधार तथा वित्तीय संघीयतालाई प्रभावकारी बनाउने विषय पनि छलफलको कार्यसूचीमा समेटिएका छन् ।
प्रदेशहरूबीच साझा हितका विकास आयोजना सञ्चालन, अन्तरप्रदेश पूर्वाधार निर्माण, व्यापार तथा लगानी प्रवर्द्धन, प्राकृतिक स्रोतको न्यायोचित उपयोग र लाभको बाँडफाँटलाई समेत सम्मेलनले प्राथमिकता दिनेछ । यसका साथै विपद् व्यवस्थापनमा सहकार्य, सुशासन प्रवर्द्धन र सार्वजनिक सेवा प्रवाहमा अपनाउन सकिने नवीन अभ्यासबारे अनुभव आदानप्रदान गरिने जनाइएको छ ।
प्रदेश सरकारहरूको कार्यसम्पादन सुधार गरी नागरिकलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने, विकासका उपलब्धि जनतासम्म पुर्याउने तथा प्रदेशको आन्तरिक आय बढाउने सम्भावनाको खोजी गर्नु पनि सम्मेलनको प्रमुख उद्देश्य रहेको विज्ञप्तिमा उल्लेख छ ।
सम्मेलनबाट साझा एजेन्डा तय गर्नुका साथै प्रस्तावित कार्ययोजना र प्रतिबद्धतामार्फत प्रदेशहरूबीचको सहकार्यलाई नियमित, व्यवस्थित र परिणाममुखी बनाउने लक्ष्य राखिएको छ ।
कोशी प्रदेश सरकारले सातै प्रदेशको सक्रिय सहभागितामा सम्मेलनलाई उपलब्धिमूलक बनाउँदै संघीयताको सुदृढीकरण, सुशासन, दिगो विकास, आर्थिक समृद्धि र नागरिकको जीवनस्तर सुधारका लागि साझा प्रयास अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

























