
विराटनगर । विराटनगरमा २६ औँ राष्ट्रिय आइटीएफ तेक्वान्दो प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । दुई दिन हुने (आइतबार र सोमबार) राष्ट्रिय प्रतियोगिताको पहिलो दिनका विभिन्न इभेन्टका खेलहरू सम्पन्न भएका छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव विप्लव घोषले आइटीएफ तेक्वान्दो खेलसँग अन्य विभिन्न खेलको उत्थानका लागि प्रदेश बोर्ड सधैँ तयार रहेको बताए । उनले बोर्डले खेल र खेलाडीको विकासका लागि विभिन्न खेलका योजना ल्याउन लागेको उल्लेख गरे ।
उनले भने, ‘यस पटकको बोर्डको सदस्यहरू अधिकांश खेलाडी र लामो समयदेखि खेल क्षेत्रसँग जुधेर काम गर्दै आउनु भएकाले खेल र खेलाडीको पिर मार्का बुझ्न सक्ने हुनुहुन्छ । त्यसैले खेल क्षेत्रको विकासका योजना ल्याउन र कार्यान्वयन गर्न सहज हुन्छ । बोर्डमा खेलका विज्ञहरू रहनु भएकाले पनि मलाई अझ खेलको विकासका योजना बनाउन ठुलो मद्दत पुगेको छ ।’
१० औँ राष्ट्रिय खेलकुद समयमै हुने कुरामा सबै खेलाडीहरूलाई विश्वस्त हुन उनले आग्रह गरे । सरकारका साथै सबै प्रदेशका खेलकुद बोर्डहरूले राष्ट्रिय खेलकुदको तयारी तीव्र पारेका छन् । त्यस अनुरूप हाम्रो प्रदेशले पनि १० औँ को तयारी थालिसकेको उनले बताए । सदस्यसचिव घोषले भने, ‘विगतको तुलनामा यस पटक पदक बढी ल्याउन खेलाडीले अझ बढी मेहनत गर्नुहुन्छ भन्ने लागेको छ । उहाँहरूले मेहनत गर्दै पदक जित्नु भयो भने हाम्रो शान मात्र बढ्दैन, उहाँहरूको खेल स्तरमाथि उठ्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत पदक जित्ने अवसरमा प्राप्त हुन्छ ।’
त्यसका लागि बोर्डले खेलाडीका लागि प्रोत्साहनका विभिन्न योजना ल्याउने अन्तिम तयारीमा छ । चाँडै १० औँ को तयारी स्वरूप केही प्रदेशसँग सम्झौता गरी अन्तर प्रदेश खेलकुदका गतिविधि हुने र जसले गर्दा खेलाडीले आफ्नो खेल कौशल निखार्न सक्ने भएकाले पदक प्राप्त गर्ने विश्वास रहेको सदस्यसचिव घोषले बताए ।
नेपाल तेक्वान्दो संघ मोरङका अध्यक्ष ओमकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष एवं कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य प्रवीणकुमार कार्की, महासंघका महासचिव घमबहादुर थापा, सशस्त्र प्रहरी मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीलगायतले खेल र खेलाडीहरूलाई शुभकामना दिए ।

प्रतियोगितामा सातवटै प्रदेश र तीन विभागीय टोलीका खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा पुरुषतर्फ ९० र महिलातर्फ ८० गरी १७० जना खेलाडी सहभागी छन् । प्रतियोगितामा हुने विभिन्न इभेन्टअन्तर्गत एकल स्पाइरिङ (पुरुष/महिला), ग्रुप स्पाइरिङ (पुरुष/महिला), एकल प्याटन (पुरुष/महिला), ग्रुप प्याटन (पुरुष/महिला) र सेल्फ डिफेन्स (पुरुष/महिला) गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ । एकल स्पाइरिङमा पुरुषतर्फ ४५ देखि ५१ किलो तौल समूहदेखि ८६ किलोभन्दा माथि तथा महिलातर्फ ४५ देखि ७६ किलोभन्दा माथिसम्मका तौल समूहमा प्रतिस्पर्धा भइरहेको आयोजकले जनाएको छ ।
ग्रुप स्पाइरिङमा पुरुष र महिला दुवैतर्फ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्याटनतर्फ हरियो, निलो, रातो, कालो प्रथम डान, दोस्रो डान र तेस्रो डानका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ग्रुप प्याटन र सेल्फ डिफेन्समा समेत पुरुष तथा महिला खेलाडीको सहभागिता रहने छ ।
यहाँबाट छनोट भएका खेलाडीले आगामी मंसिर ४, ५ र ६ गते काठमाडौंमा आयोजना हुने आठौँ दक्षिण एसियाली आइटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्ने अवसर पाउने छन् ।

























