
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईलाई पक्राउ गर्न ललितपुर जिल्ला अदालतले शुक्रबार आदेश दिएको छ ।
जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले अध्यक्ष नेम्वाङ र महासचिव राईविरुद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएको हो । अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीले यसको पुष्टि गरेका छन् ।
यही मुद्दामा पक्राउ परेका एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई धरौटीबापतको रकम लिएर मुद्दाको पुर्पक्ष गर्न अदालतले शुक्रबार आदेश दिएको छ । अदालतले कोषाध्यक्ष जोशीलाई १५ लाख रुपैयाँ र लेखा अधिकृत पाण्डेलाई १२ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जोशी र पाण्डेलाई पक्राउ गरेको थियो । उनीहरूमाथिको अनुसन्धानपछि सीआईबीले तयार पारेको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले बिहीबार अदालतमा मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दामा एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईसहित चार जनालाई प्रतिवादी बनाइएको छ। अदालतको पछिल्लो आदेशसँगै एन्फाका शीर्ष पदाधिकारीमाथिको कानुनी प्रक्रिया थप अघि बढेको छ ।

























