
विराटनगर । विभागीय टोली नेपाल पुलिस क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
मोरङको पथरी शनिश्चरे नगरपालिका–१ स्थित प्रस्तावित रंगशालामा सम्पन्न फाइनलमा झापा–११ फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलको निर्धारित समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा पुलिसले पाँच गोल गर्दा झापा–११ ले चार गोल मात्रै गर्न सक्यो । यससँगै पुलिसले तेस्रो पथरीशनिश्चरे गोल्डकपको उपाधि आफ्नो नाममा लेखाउन सफल भयो ।
उपाधिसँगै नेपाल पुलिस क्लबले नगद ६ लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता झापा–११ ले नगद ३ लाख रुपैयाँसहित ट्रफीमा चित्त बुझाएको छ ।
प्रतियोगितामा नेपाल पुलिस क्लबका सुजन मगर पुलामी प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । पुलिसकै अमित टमाटाले उत्कृष्ट गोलकिपरको उपाधि जिते ।
त्यस्तै, पथरी–११ एफसीका विशाल पुलामी मगर राइजिङ प्लेयर घोषित हुँदा झापा–११ का प्रताप राई प्रतियोगिताको सर्वाधिक गोलकर्ता बने । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधामा पुरस्कृत गरिएको आयोजकले जनाएको छ ।

























