
विराटनगर । हुलाकी सडक खण्डअन्तर्गत विराटनगर महानगरपालिका–५ पुल्चोकमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । अर्का युवक गम्भीर घाइते भएका छन् ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार बिहीबार दिउँसो ३ः१५ बजेतिर बरगाछीबाट सुनसरीतर्फ जाँदै गरेको अनटेस्ट स्कुटर अनियन्त्रित भई सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएको थियो । डिभाइडरमा ठोक्किएपछि उछिट्टिएको स्कुटर विपरीत दिशाबाट आउँदै गरेको सिर्जना ज्ञान नवतारा बोर्डिङ स्कुलको बसमा समेत ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा स्कुटर चालक सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ सखडाका १८ वर्षीय मोहम्मद रिहानरेन मियाँको मृत्यु भएको छ । उनको टाउकोमा चोट लागेको थियो । गम्भीर घाइते अवस्थामा उपचारका लागि विराट नर्सिङ होम पुर्याइएका उनलाई चिकित्सकले दिउँसो ३ः५२ बजेतिर मृत घोषणा गरेको डीएसपी मिश्रले बताए ।
स्कुटरको पछाडि सवार सप्तरीको राजविराज नगरपालिका–९ बलटाका १८ वर्षीय मोहम्मद नजाम मियाँ पनि दुर्घटनामा परेर गम्भीर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको र सोही अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर लेखनाथ दाहाल नेतृत्वको टोली खटिएको छ । दुर्घटनामा संलग्न स्कुटर र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि फरार रहेका बस चालकको खोजी तीव्र पारेर घटनाको विस्तृत अनुसन्धान अघि बढाइएको डीएसपी मिश्रले बताए ।

























