
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा मात्रै नेपालमा २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ। यो अघिल्लो आर्थिक वर्षको भदौ महिनामा भित्रिएको १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी हो ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार साउन र भदौमा कुल ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३ दशमलव ९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३ दशमलव १ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ दशमलव ५ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २७ दशमलव ६ प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर ४ खर्ब ६९ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३ खर्ब ८४ अर्ब ८८ करोड रुपैयाँ थियो ।
यसैगरी, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ७८ हजार ३२० रहेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या ५१ हजार १३६ छ । अघिल्लो वर्षको सोही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४५ हजार ८८४ थियो ।

























