
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनले गगनकुमार थापालाई भारी मतसहित सभापतिमा निर्वाचित गर्दै पार्टी रूपान्तरणको जिम्मेवारी सुम्पिएको छ । सभापति पदमा थापाले ६ हजार ५८४ मत पाउँदा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे ।
थापाको नेतृत्वमा नयाँ अनुहार र समावेशी प्रतिनिधित्व सहितको कार्यसमिति बन्ने क्रम छ । विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध चयन भएका छन् । महामन्त्री र सहमहामन्त्रीमा पनि नयाँ तथा अनुभवी नेताहरूको मिश्रित उपस्थिति देखिएको छ ।
यसले कांग्रेसमा नेतृत्व परिवर्तनको सन्देश दिएको छ । तर, अनुहार फेरिँदैमा पार्टीको कार्यशैली र राजनीतिक चरित्र बदलिन्छ भन्ने छैन ।
थापाका लागि सबैभन्दा ठूलो चुनौती कांग्रेसको खस्किएको जनविश्वास फर्काउनु हो । विगतमा उठाउँदै आएका सुशासन, जवाफदेहिता र पार्टी सुधारका मुद्दालाई अब व्यवहारमै उतार्नुपर्नेछ। नेतृत्वमा पुगेपछि प्रश्न गर्ने भूमिकाबाट परिणाम दिने जिम्मेवारीमा उनी आइपुगेका छन् ।
अर्कोतर्फ, विधान संशोधन गरेर केन्द्रीय कार्यसमितिको आकार १६४ बाट बढाएर २९७ सदस्यीय बनाइएको छ । ठूलो संरचनाले पार्टीभित्र धेरैलाई समेट्ने अवसर दिए पनि निर्णय प्रक्रिया चुस्त बनाउने र जिम्मेवारी स्पष्ट बाँडफाँट गर्ने चुनौती थपिएको छ ।
राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले नयाँ नेतृत्वबाट कांग्रेसले पुनर्जीवन पाउने सम्भावना देख्छन् । तर, थापाले जनताको आशालाई विश्वासमा बदल्न पार्टीको सिद्धान्त, नीति, सङ्गठन र कार्यशैलीमै परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।
विश्लेषक सौगात गौतम पनि नयाँ अनुहारको प्रवेशलाई मात्रै रूपान्तरण मान्न नसकिने बताउँछन् । नयाँ नेतृत्वले युवापङ्क्ति र भूगोललाई पार्टीसँग जोड्दै निर्णय प्रक्रियालाई प्रभावकारी बनाउनुपर्ने उनको धारणा छ ।
कांग्रेसले नेतृत्व परिवर्तनको अवसर पाएको छ । अब थापाको वास्तविक परीक्षा पार्टीलाई कति व्यवस्थित बनाउँछन्, जनताका मुद्दामा कति खरो उत्रिन्छन् र प्रतिबद्धतालाई परिणाममा कति बदल्छन् भन्नेमा हुनेछ । महाधिवेशनले जगाएको आशा टिकाइराख्नु नै नयाँ नेतृत्वको सबैभन्दा ठूलो चुनौती हो ।

























