
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले दसैँले पारिवारिक मिलन, सामाजिक सद्भाव, क्षमा, भाइचारा र राष्ट्रिय एकतालाई सुदृढ बनाउनुका साथै नेपालको सांस्कृतिक पहिचान संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याएको बताएका छन्।
उनले दुर्गा भगवतीले दानवी शक्तिमाथि र भगवान् रामले रावणमाथि विजय हासिल गरेको धार्मिक मान्यतालाई स्मरण गर्दै दसैँ अन्यायमाथि न्याय र असत्यमाथि सत्यको विजयको प्रतीक भएको उल्लेख गरेका छन्।
यसैबीच, देशका विभिन्न भागमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति पौडेलले मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले बाढी प्रभावितको पुनः स्थापनाका लागि सबै पक्षलाई एकताबद्ध भएर अघि बढ्नसमेत अपिल गरेका छन्।

























