
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने भएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालले सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री शाहको भारत भ्रमण हुने जानकारी दिएका हुन् । भ्रमणको मितिबारे भने औपचारिक टुङ्गो लाग्न बाँकी रहेको उनले बताए ।
प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने चर्चा चलिरहेका बेला परराष्ट्रमन्त्री खनालले पनि सोही अवधिमा भ्रमण हुन सक्ने सङ्केत गरेका हुन् ।
‘तर, आजका दिनसम्म हामीले औपचारिक रूपमा निश्चित गरिसकेका छैनौँ,’ मन्त्री खनालले भने ।
वर्तमान सरकार गठन भएदेखि नै भारत सरकारसँग नियमित सम्पर्क भइरहेको जानकारी दिँदै उनले प्रधानमन्त्रीको आगामी भ्रमण परिणाममुखी र उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे ।
‘भ्रमणका क्रममा व्यापार तथा पारवहन, कनेक्टिभिटी, ऊर्जा र सीमालगायतका विषयमा केही न केही सकारात्मक प्रगति होस् भन्ने हाम्रो चाहना छ,’ मन्त्री खनालले भने ।
भ्रमणका क्रममा ठूला पूर्वाधार तथा जलविद्युत् परियोजनाको उद्घाटन र शिलान्यासका साथै विभिन्न सम्झौतामा हस्ताक्षर हुने बताइएको छ ।
गत १३ चैतमा वर्तमान सरकारको नेतृत्व सम्हालेयता प्रधानमन्त्री शाहको यो पहिलो भारत भ्रमण हुनेछ ।

























