क्यानडाबाट अलग हुने प्रस्ताव अल्बर्टाका ७६ प्रतिशतभन्दा बढी मतदाताद्वारा अस्वीकृत

Share this
627shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ३, मंगलबार १५:०६

एजेन्सी ।  क्यानडाको अल्बर्टा प्रान्तलाई देशबाट अलग गर्ने प्रक्रिया अघि बढाउने प्रस्तावलाई मतदाताले भारी बहुमतले अस्वीकार गरेका छन्। प्रारम्भिक मतगणनाअनुसार ७६ प्रतिशतभन्दा बढी मतदाताले क्यानडाकै हिस्सा बनिरहने पक्षमा मतदान गरेका छन्।

गैरबाध्यकारी यस जनमतसंग्रहमा मतदातासमक्ष अल्बर्टा क्यानडामै रहने वा भविष्यमा अलग हुने विषयमा बाध्यकारी जनमतसंग्रह गराउन आवश्यक कानुनी प्रक्रिया सुरु गर्ने भन्ने प्रश्न राखिएको थियो।

प्राकृतिक तेलको विशाल भण्डार रहेको अल्बर्टा क्षेत्रफलका हिसाबले जर्मनीभन्दा झन्डै दोब्बर ठूलो छ। यद्यपि, यहाँको जनसंख्या करिब ५० लाख छ। प्रान्तको कुल जनसंख्याको झन्डै आधा हिस्सा प्रमुख सहर एडमन्टन र क्यालगरीमा बसोबास गर्छ।

जनमतसंग्रहको प्रारम्भिक परिणामलाई अल्बर्टालाई क्यानडाबाट अलग गराउन चाहने पृथकतावादी समूह र तिनका समर्थकका लागि ठूलो धक्काका रूपमा हेरिएको छ।

अमेरिकासँग जारी व्यापारिक तनावका बीच क्यानडाको राष्ट्रिय एकता कायम राख्न प्रयासरत प्रधानमन्त्री मार्क कार्नीका लागि भने यो परिणाम राजनीतिक रूपमा महत्त्वपूर्ण बनेको छ। मतदाताको स्पष्ट समर्थनले अल्बर्टाको पृथकतासम्बन्धी बहसमा क्यानडामै रहने पक्षलाई बलियो बनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×