चाडपर्व सुरक्षामा ५० हजारभन्दा बढी प्रहरी परिचालन

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ३, मंगलबार १३:४०

काठमाडौं । दसैँ, तिहार, छठ तथा नेपाल संवत्लगायत चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन गरेको छ। चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, यात्रुको सुरक्षा सुनिश्चित तथा सडक दुर्घटना न्यूनीकरण गर्न प्रहरीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो।

चाडपर्व मनाउन घर फर्किने नागरिकलाई ठगी, लुटपाट तथा अन्य आपराधिक घटनाबाट जोगाउन देशभरका सीमावर्ती क्षेत्रका १०८ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी अविनारायण काफ्लेले जानकारी दिए।

उनका अनुसार सहायता कक्षबाट २४ सै घण्टा नागरिकलाई सेवा तथा सुरक्षा सहजीकरण प्रदान भइरहेको छ। सीमापारिबाट नेपाल प्रवेश गर्ने यात्रुलाई सम्भावित आपराधिक गतिविधिबाट जोगाउनुका साथै आवश्यक प्रहरी सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले यी कक्ष सञ्चालनमा ल्याइएको उनले बताए।

सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन प्रदेश प्रहरी कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा सबै जिल्ला प्रहरी कार्यालयमा कमान्ड सेन्टर स्थापना गरिएको छ। ती केन्द्रमार्फत सुरक्षा योजनाको कार्यान्वयन र प्रहरी परिचालनलाई व्यवस्थित बनाइएको प्रवक्ता काफ्लेले बताए।

चाडपर्वका समयमा सडक दुर्घटना न्यूनीकरण गर्न प्रहरीले राजमार्ग तथा प्रमुख सडकखण्डमा निगरानी बढाएको छ। विशेषगरी काठमाडौंको नागढुंगादेखि चितवन जोड्ने सडकखण्डसहित प्रमुख लोकमार्गमा सूचनामा आधारित विशेष जाँच प्रणाली लागू गरिएको छ।

यात्रुवाहक सवारीसाधनका प्रमुख प्रस्थानविन्दुमा चालकको अनुमतिपत्र जाँच गर्नुका साथै लागुपदार्थ सेवन (लापसे) र मादकपदार्थ सेवन (मापसे) गरे–नगरेको परीक्षणलाई कडाइ गरिएको छ। सम्बन्धित यातायात व्यवस्था कार्यालय तथा प्राविधिक निकायसँग समन्वय गरी सवारीसाधनको यान्त्रिक अवस्था परीक्षण गरेपछि मात्र लामो दूरीका गाडीलाई प्रस्थान अनुमति दिने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

त्यसैगरी, लामो दूरीका सवारीसाधनमा अनिवार्य रूपमा दुई चालक राख्नुपर्ने कानुनी व्यवस्थाको कार्यान्वयनमा पनि ट्राफिक प्रहरीले निगरानी बढाएको छ। चाडपर्वका बेला यात्रुको सुरक्षित आवागमन सुनिश्चित गर्न र सम्भावित दुर्घटना न्यूनीकरण गर्न सुरक्षा जाँच तथा निगरानीलाई थप प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×