
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्न सक्ने बताएका छन्। सम्भावित भेटमा आणविक निशस्त्रीकरणका साथै युक्रेन युद्धबारे पनि छलफल हुन सक्ने उनले सङ्केत गरेका छन्।
ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको आलोचना गर्दै युक्रेनको तर्फबाट अन्य व्यक्तिले वार्ताको नेतृत्व गर्नुपर्ने समय आएको टिप्पणी गरेका छन्। उनको यस अभिव्यक्तिले अमेरिका र युक्रेनबीच देखिँदै आएको मतभेदलाई थप सतहमा ल्याएको छ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले चीनमा आयोजना हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा तीन देशका नेताबीच त्रिपक्षीय भेटवार्ताको सम्भावनाबारे छलफल भएको बताएका छन्। यद्यपि, यस विषयमा अहिलेसम्म कुनै ठोस सहमति नभएको उनको भनाइ छ।
नोभेम्बर १८ र १९ मा चीनको सेन्जेनमा हुने सम्मेलनमा अमेरिका, रुस र चीनका नेताहरू सहभागी हुने अपेक्षा गरिएको छ। तर, चिनियाँ विदेश मन्त्रालयले भने सम्भावित त्रिपक्षीय भेटवार्ताबारे आफूलाई जानकारी नभएको जनाएको छ।
यसैबीच, युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाले किएभको सहभागिताबिना हुने कुनै पनि बैठकले रुसी राष्ट्रपति पुटिनलाई युद्ध जारी राख्न प्रोत्साहन गर्न सक्ने चेतावनी दिएका छन्। यता, क्रेमलिनका प्रवक्ता पेस्कोभले पनि अन्तिम शान्ति सम्झौतामा पुग्न युक्रेनी प्रतिनिधिको सहभागिता आवश्यक हुने बताएका छन्।
यसैबीच, रुसले युक्रेनमाथिको सैन्य आक्रमणलाई तीव्र बनाएको छ। सोमबार खार्किभ क्षेत्रमा रुसी ड्रोनबाट गरिएको आक्रमणमा बालबालिकासहित छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। युक्रेनले यसअघि अमेरिकाले आवश्यक महत्त्वपूर्ण गुप्तचर सूचना उपलब्ध नगराएको आरोपसमेत लगाएको छ।

























