सुनखानी भत्किँदा १४ जनाको मृत्यु

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ३, मंगलबार १०:१०

एजेन्सी । कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । क्षेत्रीय अधिकारीहरूका अनुसार सोमबार राति खोजी तथा उद्धार कार्य समाप्त भएको छ ।

नारिनो प्रान्तीय सरकारले सान्ता बार्बरा डे इस्कुआन्डे सहरनजिकै दुर्घटना भएको जनाएको छ । घटनाले अनौपचारिक रूपमा सञ्चालन भइरहेका खानीमा काम गर्ने मजदुरको जोखिम पुनः उजागर गरेको सरकारले बताएको छ । तीन महिनाभन्दा कम अवधिमा प्रान्तमा दोस्रोपटक खानी भत्किँदा २७ जनाको मृत्यु भएको पनि सरकारले जनाएको छ ।

घना वर्षावनले घेरिएको सान्ता बार्बरा डे इस्कुआन्डे पुग्न डुङ्गा वा साना विमानको सहारा लिनुपर्छ। दुर्गम स्थानमा दुर्घटना भएकाले उद्धार तथा सहायता टोलीलाई घटनास्थल पुग्न कठिन भएको थियो । नारिनोका गभर्नर लुइस अल्फोन्सो एस्कोबारले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै यसबाट धेरै परिवार प्रभावित भएको बताएका छन् ।

कोलम्बियामा सरकारी अनुमति नलिई सञ्चालन गरिएका सयौँ साना खानी छन् । तीमध्ये केही सशस्त्र विद्रोही समूहको नियन्त्रणमा रहेको बताइन्छ । उक्त क्षेत्रमा सन् २०१६ को शान्ति सम्झौतामा सहभागी हुन अस्वीकार गरेका फार्कका पूर्वसदस्यको नेतृत्वमा रहेको ज्याकोबो एरेनास समूहसहित दुई विद्रोही समूह सक्रिय छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×