?????????????????????????????????????????????????????????इलाम । कुनै समय धान फल्ने खेतमा अहिले अलैँचीका बिरुवा लहलहाउन थालेका छन्। उत्पादन र मूल्य दुवै राम्रो हुन थालेपछि इलामका किसान परम्परागत खेती छाडेर अलैँची विस्तारमा जुटेका छन् । सन्दकपुरको सुलुबुङमा मात्रै यस वर्ष तीन करोड रुपैयाँभन्दा बढीको अलैँची उत्पादन हुने अनुमान छ।
अलैँची टिप्ने, छोडाउने र सुकाउने चटारो चलिरहेका बेला किसानमा उत्साह थपिएको छ। सन्दकपुर गाउँपालिका–३ सुलुबुङका किसानले यस वर्ष करिब ३०० मन अर्थात् १२ हजार किलो अलैँची उत्पादन हुने अनुमान गरेका छन्। गत वर्षकै हाराहारीमा मूल्य पाए गाउँमा मात्रै तीन करोड रुपैयाँभन्दा बढी आम्दानी हुने उनीहरूको अपेक्षा छ।
स्थानीय किसान टंककुमार ढकालका अनुसार धान खेतीमा धेरै मेहनत गर्नुपर्ने भए पनि अलैँचीमा तुलनात्मक रूपमा कम गोडमेलले पुग्छ। आम्दानीको सम्भावना राम्रो देखिएपछि धान उत्पादन हुने खेतसमेत मासेर अलैँची लगाउने क्रम बढेको उनले बताए।
इलामको माइजोगमाई गाउँपालिका–५ शिरिसेका किसान महेश सापकोटाले अलैँचीका बिरुवा बिक्री गरेरै यस वर्ष करिब एक करोड रुपैयाँको कारोबार गरेका छन्। आफ्नै उत्पादन र गाउँबाट खरिद गरिएका बिरुवा बिक्री गर्दै आएका उनले इलामबाहेक देशका विभिन्न जिल्लाका किसानले समेत यहाँबाट बिरुवा लैजाने गरेको बताए। उनले आफ्नो बगानबाट यस वर्ष करिब १५ मन अलैँची उत्पादन हुने अनुमान गरेका छन्।
देउमाईका किसानहरूको गाउँ-गाउँमा अलैँची खेतीप्रति आकर्षण बढेको छ। माइजोगमाई, फाकफोकथुम, देउमाई, सन्दकपुर, सूर्योदय र रोङलगायतका पालिकामा यसको खेती विस्तार भइरहेको छ। अन्य बालीबाट भन्दा अलैँचीबाट बढी लाभ हुने देखेपछि किसान यसतर्फ आकर्षित भएका हुन्।
अलैँची खेती विस्तारसँगै यसको निर्यातले पनि नयाँ रेकर्ड बनाएको छ। मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट १२ अर्ब ६३ करोड ६९ लाख ७० हजार रुपैयाँको ६३ लाख ८५ हजार ८७० किलो अलैँची निर्यात भएको थियो। अघिल्लो आर्थिक वर्षमा सात अर्ब ६७ करोड ४० लाख ३७ हजार रुपैयाँको अलैँची निर्यात भएको थियो।
जिल्लागत निर्यातको यकिन तथ्यांक नभए पनि इलामबाट मात्रै करिब अढाई अर्ब रुपैयाँको अलैँची निकासी भएको अनुमान छ। इलाम उद्योग वाणिज्य संघका अध्यक्ष चेतनाथ पौडेल (कृष्ण) ले जिल्लागत विवरण छुट्याउन कठिन भए पनि उत्पादन र कारोबारका आधारमा यस्तो अनुमान गर्न सकिने बताए।
गत आर्थिक वर्षमा इलाममा अलैँची प्रतिमन ७० देखि ८० हजार रुपैयाँसम्म बिक्री भएको थियो। आर्थिक वर्ष २०८२८३ मा यसको मूल्य बढेर प्रतिमन एक लाख छ हजार रुपैयाँसम्म पुगेको थियो। बजार मूल्यबारे मोबाइल एसएमएसबाटै जानकारी लिन सकिने भएपछि कारोबारमा पारदर्शिता बढेको नेपाल अलैँची व्यवसायी संघले जनाएको छ।
इलामसहित पाँचथर, ताप्लेजुङ, संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटालगायत पूर्वी पहाडी जिल्लामा अलैँचीको व्यावसायिक खेती हुँदै आएको छ। देशका ५४ जिल्लामा खेती गरिने भए पनि मुख्य उत्पादन पूर्वी पहाडी क्षेत्रमा केन्द्रित छ। राम्रो मूल्य, बजारको सम्भावना र तुलनात्मक रूपमा कम मेहनतका कारण अलैँची अहिले किसानका लागि आम्दानीको आकर्षक स्रोत बन्दै गएको छ।

























