
काठमाडौं । नुवाकोटकी सन्तमाया तामाङले आन्तरिक राजस्व विभागको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन्।
दसैँका बेला नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट ३ हजार रुपैयाँ बराबरको सामान खरिद गरी बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट बम्पर उपहारका लागि छनोट भएको हो।
काठमाडौंको विशाल बजारमा आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीमार्फत बटन थिचेर बम्पर तथा दैनिक उपहारका विजेता घोषणा गरेका थिए। विजेता घोषणा भएपछि उनीहरूले तामाङलाई फोन गरेर १० लाख रुपैयाँ जितेको जानकारी गराएका थिए।
सुरुमा फोनमार्फत आएको जानकारीलाई मजाक ठानेकी तामाङले कलाकारद्वयले नेपाल सरकारको आधिकारिक कार्यक्रम भएको बताएपछि मात्रै आफूले उपहार जितेको विश्वास गरेकी थिइन्।
विभागका अनुसार बम्पर उपहारबाहेक असोज १६ देखि ३१ गतेसम्मका लागि १६ जना दैनिक विजेता पनि छनोट भएका छन्। प्रत्येक दिन एक जना विजेताले घोषित १ लाख ३३ हजार ३३४ रुपैयाँको उपहार प्राप्त गर्नेछन्। कर कट्टीपछि भने उनीहरूको खातामा जनही १ लाख रुपैयाँ जम्मा हुनेछ।
आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीको विकास गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए।
उनका अनुसार असोज १६ देखि ३१ गतेसम्म २ लाख ७५ हजार ८८४ कारोबारका बिल प्रविष्ट गरी कार्यक्रममा सहभागी भएका थिए। त्यस्तै, क्यूआर भुक्तानीमार्फत स्वतः दर्ता भएका ३ करोड ७४ लाख ७८ हजार ३८० कारोबारसमेत समेट्दा कुल ३ करोड ७७ लाख ५५ हजार २६४ कारोबार उपहार छनोट प्रक्रियामा समावेश भएका थिए।
विभागले बम्पर तथा दैनिक उपहारका सबै विजेतालाई आगामी कात्तिक १५ गतेभित्र पुरस्कार दाबी गर्न आग्रह गरेको छ। पुरस्कार प्राप्त गर्न विजेताहरूले सामान खरिद गर्दा प्राप्त गरेको सक्कल बिलसहित नजिकैको आन्तरिक राजस्व कार्यालयमा उपस्थित हुनुपर्नेछ।



















