बाढीपहिरोले घिरिङका सडक र बस्ती जोखिममा, मर्मतको पहल

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ५, बिहीबार १३:४७

तनहुँ । असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले तनहुँको घिरिङ गाउँपालिकाका विभिन्न सडक, पुल तथा कल्भर्टमा क्षति पुर्‍याएको छ। क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माणका लागि जिल्ला विपद् व्यवस्थापन समितिले सम्बन्धित निकायमा सिफारिस गरेको छ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार बाढीपहिरोबाट क्षति पुगेका संरचनाको विवरण संकलन गरी आवश्यक मर्मत तथा पुनर्निर्माणका लागि सम्बन्धित कार्यालय र मन्त्रालयमा सिफारिस गरिएको हो।

बाढीपहिरोका कारण घिरिङ गाउँपालिकाका विभिन्न स्थानमा सडक भासिने, सडकमा चिरा पर्ने, पुलको ब्याकफिलिङ बगाउने तथा कल्भर्टको संरक्षण संरचनामा क्षति पुग्ने समस्या देखिएको छ। केही स्थानमा खोलाको कटानले बस्तीसमेत जोखिममा परेको जनाइएको छ।

घिरिङ गाउँपालिका–१ स्थित द्रोपती खोलाको पुलको दुवैतर्फ सडकसँग जोडिएको भागको ब्याकफिलिङ बगाएको छ। यसले पुलको संरचनामा थप क्षति पुग्न सक्ने र आवागमन प्रभावित हुन सक्ने भएकाले मर्मत तथा पुनर्निर्माणका लागि पूर्वाधार विकास कार्यालय तनहुँ र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमा सिफारिस गरिएको छ।

त्यस्तै, घिरिङ गाउँपालिका–३ स्थित भैरव मोटरमार्गको केही भाग भासिएको छ। सडकलाई सुरक्षित र नियमित रूपमा सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनर्निर्माणका लागि पूर्वाधार विकास कार्यालय तनहुँमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिए।

घिरिङ गाउँपालिका–१ स्थित ठूलोफेदी खोलाको कटानका कारण नजिकको बस्तीमा क्षति पुग्न सक्ने जोखिम देखिएको छ। बस्तीको सुरक्षा तथा सम्भावित क्षति न्यूनीकरणका लागि रिटेनिङ वाल निर्माण गर्न सम्बन्धित निकायमा सिफारिस गरिएको छ।

यसैगरी, घिरिङ गाउँपालिका–४ स्थित शालिग्राम करिडोरमा तिरन्दी खोलाको पुलको छेउमा क्षति पुगेको छ। पुलको छेउको संरचना कमजोर हुन सक्ने भएकाले आवश्यक मर्मतका लागि सिफारिस गरिएको समितिले जनाएको छ।

घिरिङ गाउँपालिका–३ स्थित गाबुडाँडा–नयाँटार सडकखण्डमा पनि चिरा परेको छ। सडकमा थप क्षति हुन नदिन प्राविधिक जाँचसहित मर्मतसम्भार गर्नुपर्ने देखिएको छ। उक्त सडकखण्डको मर्मतका लागि पूर्वाधार विकास कार्यालय तनहुँमा सिफारिस गरिएको छ।

त्यसैगरी, घिरिङ गाउँपालिका–४ स्थित तिन्दीखोला कल्भर्टको तल्लो भागमा लगाइएको जाली खोलाको बहावले बगाएको छ। कल्भर्टको संरक्षण संरचनामा क्षति पुगेपछि आवश्यक मर्मत तथा पुनर्निर्माणका लागि सम्बन्धित कार्यालयमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए।

बाढीपहिरोबाट क्षति पुगेका संरचनाको मर्मत तथा पुनर्निर्माणपछि सडक आवागमन सहज बनाउनुका साथै जोखिममा रहेका बस्ती र पूर्वाधारको सुरक्षा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
मोटरसाइकलको ठक्करले लेटाङमा वृद्धको मृत्यु
इटहरीमा जुवा खेल्ने पाँच जना पक्राउ, ३ लाख ७१ हजार रुपैयाँ बरामद
रंगेलीमा सशस्त्र प्रहरीमाथि हातपात गरेको आरोपमा तीन जना पक्राउ
इजरायलमा सत्ता संघर्ष तीव्र, नेतान्याहुलाई विपक्षीको चुनौती
विश्वबजारमा पुग्यो नेपाली फिल्म ‘लालीबजार’
बाढीपहिरोले घिरिङका सडक र बस्ती जोखिममा, मर्मतको पहल
त्रियुगामा स्यालको आतंक : १५ पशुचौपाया घाइते, गाउँले त्रसित
ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान
इरानमाथि नयाँ आक्रमणको तयारीमा अमेरिका, तेहरानले दियो कडा प्रतिकारको चेतावनी
देशभर सवारी दुर्घटनामा ५ जनाको मृत्यु, ३१३ जना घाइते
प्रदेश लेखा इकाइ प्रमुख पृथ्वीमान लिम्बुले गरे मेरापिक हिमालको आरोहण
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×