
काठमाडौं । विश्व भोकमरी सूचकांक २०२६ मा नेपाल १२२ देशमध्ये ७२औँ स्थानमा छ । प्रतिवेदनअनुसार नेपालमा भोकमरीको अवस्था मध्यम श्रेणीमा छ । नेपालले १०० पूर्णाङ्कमा १४.५ अंक प्राप्त गरेको छ । सन् २०१८ मा नेपालको अंक १८.४ थियो । पछिल्लो तथ्याङ्कले भोकमरीको अवस्थामा सुधार देखाए पनि पोषण र खाद्य सुरक्षामा थप काम गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।
दक्षिण एसियाली मुलुकमध्ये नेपालको अवस्था भारत, पाकिस्तान र बंगलादेशको तुलनामा राम्रो देखिएको छ । श्रीलंका १०.२ अंकसहित ५३औँ स्थानमा छ भने बंगलादेश १९.२ अंकसहित ८४औँ, भारत २४.१ अंकसहित १००औँ र पाकिस्तान २५.५ अंकसहित १०६औँ स्थानमा छन् । अफगानिस्तान १०८औँ स्थानमा छ। प्रतिवेदनमा दक्षिण एसियाको औसत अंक २३.५ र विश्वको औसत १८.१ उल्लेख छ ।
नेपालमा पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपनको दर पनि घटेको छ । सन् २००० मा ५५.९ प्रतिशत बालबालिकामा देखिएको यो समस्या सन् २०२६ मा २६.२ प्रतिशतमा झरेको छ । यस अवधिमा पुड्कोपनको दर २९.७ प्रतिशत विन्दुले घटेको हो । यद्यपि, बालबालिकाको पोषण अवस्था र खाद्य सुरक्षामा अझै सुधार गर्नुपर्ने प्रतिवेदनले देखाएको छ ।
भोकमरी सूचकांक चार प्रमुख सूचकका आधारमा गणना गरिन्छ । यसमा अपर्याप्त क्यालोरी सेवन गर्ने जनसङ्ख्याको अनुपात, पाँच वर्षमुनिका बालबालिकामा उमेरअनुसार उचाइ कम हुने समस्या, उचाइअनुसार तौल कम हुने समस्या र पाँच वर्ष नपुग्दै हुने बालमृत्यु दर समावेश छन्। सूचकांकमा कम अंक हुनु भोकमरीको अवस्था राम्रो हुनु हो ।



















