
काठमाडौं । फिलिपिन्समा प्रशिक्षण उडानका क्रममा दुईवटा सैन्य विमान दुर्घटनाग्रस्त हुँदा चार पाइलटको मृत्यु भएको छ।
उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार भएको दुर्घटनामा एसएफ–२६० प्रकारका दुई विमान परेका हुन् । फिलिपिन्स वायुसेनाले शनिबार दुर्घटनामा चार पाइलटको मृत्यु भएको पुष्टि गरेको हो ।
वायुसेनाका अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित हवाई आधारनजिकै दुवै विमान दुर्घटनामा परेका थिए । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ। त्यसैक्रममा वायुसेनाले आफ्ना सबै एसएफ–२६० विमानको उडान तत्कालका लागि स्थगित गरेको छ।
एसएफ–२६० हल्का विमान हुन्, जसलाई फिलिपिन्स वायुसेनाले पाइलट प्रशिक्षणका लागि प्रयोग गर्दै आएको छ।
यसअघि गत मे २० मा उत्तरी फिलिपिन्सकै बेन्गुएट प्रान्तमा एसएफ–२६० विमान दुर्घटनाग्रस्त हुँदा दुई पाइलटको मृत्यु भएको थियो। लगातार भएका यस्ता दुर्घटनाले फिलिपिन्सको सैन्य उड्डयन सुरक्षामाथि प्रश्न उठाएको छ।



















