
एजेन्सी । फिलिपिन्समा प्रशिक्षण उडानका क्रममा वायुसेनाका दुई विमान दुर्घटनाग्रस्त हुँदा चार जना पाइलटको मृत्यु भएको छ ।
फिलिपिन्सको वायुसेनाका अनुसार शुक्रबार राजधानी मनिलाको दक्षिणमा रहेको बाताङ्गास प्रान्तस्थित फर्नान्डो एयर बेसमा एसएफ–२६० मोडलका दुई प्रशिक्षण विमान दुर्घटनामा परेका हुन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार दुवै विमान आकाशमै ठोक्किएका थिए । त्यसपछि विमानहरू सैन्य हवाई अड्डा परिसरमै खसेका थिए ।
दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ । अनुसन्धान पूरा नहुँदासम्म वायुसेनाले एसएफ–२६० मोडलका सबै प्रशिक्षण विमानको उडान अस्थायी रूपमा रोकेको छ ।
यसअघि गत मे महिनामा पनि फिलिपिन्सको उत्तरी पहाडी क्षेत्रमा एसएफ–२६० प्रशिक्षण विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको थियो । सन् २०२३ मा भएको यस्तै दुर्घटनामा पनि दुई पाइलटले ज्यान गुमाएका थिए ।



















