असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड आम्दानी

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ८, आइतबार ०९:५०

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ विद्युत् निर्यात गरी ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन प्रभावित भए पनि विद्युत् निर्यातबाट हुने आम्दानी गत वर्षको असोज र चालु आर्थिक वर्षको भदौको तुलनामा बढेको हो ।

प्राधिकरणका अनुसार असोजमा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात भएको छ । गत वर्षको असोजमा ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात भएकोमा यस वर्ष ९६ करोड २० लाख रुपैयाँले वृद्धि भएको छ । यस्तै, भदौको तुलनामा असोजमा निर्यातबाट हुने आम्दानी ८३ करोड २५ लाख रुपैयाँले बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको प्राधिकरणले जनाएको छ । भारतको हरियाणा र बिहार राज्यसँगको द्विपक्षीय विद्युत् बिक्री सम्झौता तथा भारतीय ऊर्जा विनिमय बजारमार्फत प्रतिस्पर्धी दरमा विद्युत् बिक्री हुँदै आएको छ ।

यसैबीच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पनि पुनः सुरु भएको छ । गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा बाढी आएपछि त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुगेको थियो । त्यसपछि बंगलादेशतर्फको विद्युत् निर्यात रोकिएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत् केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बंगलादेश तथा भारतको हरियाणातर्फ निर्यात गर्न अनुमति प्राप्त भएको छ । नयाँ व्यवस्थासँगै बाढीबाट प्रभावित निर्यात प्रणालीलाई वैकल्पिक आयोजनामार्फत निरन्तरता दिन सहज भएको छ ।

नेपाल र बंगलादेशबीच २०८१ असोज १७ गते भएको पाँच वर्षीय सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गरिँदै आएको छ । नेपालले भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशमा विद्युत् बिक्री गर्दै आएको हो ।

यस्तै, भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत् निर्यातको अनुमति प्राप्त भएको छ । यससँगै भारततर्फ विद्युत् निर्यात गर्न स्वीकृति प्राप्त कुल क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको छ । देशभित्रको माग पूरा भएपछि बचत हुने वर्षायामको विद्युत् भारत र बंगलादेशमा निर्यात गरी आम्दानी गर्ने प्राधिकरणको व्यवस्था छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×