
विराटनगर । वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । ३१ वर्षीय एलेनको आगमनले टोलीको स्पिन बलिङ र तल्लो क्रमको ब्याटिङ थप बलियो हुने अपेक्षा गरिएको छ।
बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर एलेन आक्रामक ब्याटिङका लागि परिचित छन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज टी–२० लिगमा खेलेको अनुभव बटुलेका छन्।
एलेनले वेस्ट इन्डिजका लागि २० एक दिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। एक दिवसीयमा २०० रन बनाउँदै सात विकेट लिएका उनले टी–२० अन्तर्राष्ट्रियमा २९८ रन र २४ विकेट आफ्नो नाममा लेखाएका छन्।
सबैखाले टी–२० क्रिकेटमा १७८ खेल खेलेका एलेनले एक हजार ६३४ रन बनाउनुका साथै १०९ विकेट लिएका छन्। यस प्रारूपमा उनको ब्याटिङ स्ट्राइक रेट १३९.८९ छ भने उनले १०६ छक्का प्रहार गरेका छन्।
सन् २०१६ मा जमैकाबाट प्रथम श्रेणी क्रिकेटमा पदार्पण गरेका एलेनले सन् २०१८ मा वेस्ट इन्डिजको एक दिवसीय र टी–२० अन्तर्राष्ट्रिय टोलीमा स्थान बनाएका थिए। सन् २०२२ को सुरुवातमा व्यक्तिगत कारणले केही समय क्रिकेटबाट टाढिएका उनी सोही वर्ष अगस्टमा पुनः खेलमा फर्किएका थिए।
त्यसपछि उनले राष्ट्रिय टोलीबाट सीमित अवसर पाए पनि क्यारेबियन, युएई, दक्षिण अफ्रिका, क्यानडा, पाकिस्तान, भारत, श्रीलंका र बंगलादेशका विभिन्न टी–२० लिगमा सहभागिता जनाएका छन् ।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले एलेनको अलराउन्ड क्षमताले टोलीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे। उनले एलेनको स्पिन बलिङ र तल्लो क्रममा आक्रामक ब्याटिङ गर्ने क्षमताबाट टोलीले फाइदा लिने अपेक्षा गरिएको बताए।
टोलीमा अनुबन्ध भएपछि एलेनले सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्न पाउँदा खुसी लागेको बताएका छन्। उनले नेपालमा आएर प्रतियोगिता खेल्न र टोलीको सफलतामा योगदान दिन आफू उत्साहित रहेको उल्लेख गर्दै समर्थकका अगाडि राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता जनाएका छन्।

























