भोजपुरका किसानलाई धान भित्र्याउने चटारो

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ७, शनिबार १४:३७

भोजपुर । पहाडी गरामा लहलहाएका सुनौला धानका बाला पाकेर पहेँलपुर बनेका छन् । धान थन्क्याउने मुख्य समयमै दसैँ परेकाले किसान अहिले परिवार र आफन्तसँग चाडपर्वको खुसी साट्न व्यस्त छन् । टीका-जमरा र खानपिनको रमझम सकिएलगत्तै उनीहरू धान काट्ने र भित्र्याउने काममा जुट्नेछन् ।

भोजपुर नगरपालिका-६ की किसान सङ्गीता खड्काका अनुसार दसैँ मनाइसकेपछि किसानलाई धान काट्ने र थन्क्याउने चटारो सुरु हुनेछ ।

कात्तिक लागेसँगै पहाडी भेगको मुख्य खाद्यान्न बाली धान पाकेर पहेँलपुर बनेपछि भोजपुरका गाउँबस्तीको दृश्य पनि आकर्षक बनेको छ । यस वर्ष अनुकूल मौसम, समयमै भएको मनसुन र पर्याप्त सिँचाइका कारण धान उत्पादन राम्रो हुने आशा किसानले गरेका छन् ।

भोजपुर नगरपालिका-५ का किसान भीमसेन फुयालले पाकेको धानले गाउँघर र डाँडापाखाको सौन्दर्य बढाएको बताए । उनका अनुसार चाडपर्व सकिएपछि धान काट्ने, मुठा बाँध्ने, दाइँ हाल्ने र भण्डारण गर्ने काम सुरु हुनेछ ।

भिराला खेतमा मेसिनरी औजारको पहुँच सहज नभएकाले किसानले परम्परागत ‘अर्मपर्म’ प्रथामार्फत धान भित्र्याउने गरेका छन् । यस क्रममा परिवारका सदस्य र छिमेकी मिलेर धान काट्ने र थन्क्याउने गरिन्छ ।

वर्षभरिका लागि आवश्यक खाद्यान्न घर भित्र्याउन पाए ढुक्क हुने फुयाल बताउँछन् । दसैँको रमझम सकिएसँगै भोजपुरका किसान अब पाकेको धान भित्र्याउने तयारीमा जुट्नेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×