
विराटनगर । कोशी प्रदेशमा दसैँको अवधिमा ४ सय १३ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परेर २२ जनाको मृत्यु भएको छ । मृतकमध्ये १ जना सवारी चालकसहित १७ जना पुरुष र २ जना बालिकासहित ५ जना महिला रहेका छन् ।
दुर्घटनामा परेर ७ सय ४६ जना घाइते भएका छन् । घाइतेमध्ये ३१ पुरुष र ५ महिला गरेर ३६ जनाको अवस्था गम्भीर छ । ७ सय १० जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर घाइते हुनेमध्ये ७१ जना सवारी चालक छन् । चालकहरु सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा ३ वटा चौपाया पनि मरेका छन् ।

दसैँमा भएको दुर्घटनाको तथ्यांक ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका निमित्त प्रमुख एवं इन्स्पेक्टर विकाश थपलियाका अनुसार कोशीका १४ जिल्लामध्ये दसैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म सबैभन्दा धेरै दुर्घटना मोरङमा भएका छन् । दसैंको अवधिमा मोरङमा १ सय ७० वटा दुर्घटना भएका छन् । दुर्घटनामा ४ जनाको मृत्यु हुनुका साथै २ सय ९१ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जानकारी इन्स्पेक्टर थपलियाले दिए ।
उनका अनुसार दुर्घटनामा भएको मानवीय क्षतिको संख्या भने सुनसरीमा धेरै छ । सुनसरीमा ८७ वटा दुर्घटना हुँदा चालकसहित ८ पुरुष र २ महिला गरेर १० जनाको मृत्यु भएको थपलियाले बताए । दुर्घटनामा परेर सुनसरीमा १ सय ५६ जना घाइते भएकामध्ये १४ जनाको अवस्था गम्भीर छ ।
झापामा ८४ वटा दुर्घटना हुँदा २ पुरुष र २ महिला गरेर ४ जनाको मृत्यु भएको छ । १ सय ३९ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । उदयपुरमा ३३ वटा दुर्घटना भएका छन् । उक्त दुर्घटनामा ३ पुरुष र १ महिला गरेर ४ जनाको मृत्यु भएको छ । ८९ जना घाइते भएका छन् ।
सुनसरी, मोरङ, झापा र उदयपुरमा भएका दुर्घटनामा मात्रै मानवीय क्षति भएको जानकारी इन्स्पेक्टर थपलियाले दिए । उनका अनुसार अन्य जिल्लामा भएका दुर्घटनामा मानिसको ज्यान गएको छैन । मानिस घाइते मात्रै भएका छन् ।
इलाममा १० वटा दुर्घटना हुँदा २० जना, पाँचथरमा ७ वटा दुर्घटना हुँदा १२ जना, खोटाङमा ७ वटा दुर्घटना हुँदा ९ जना, ओलढुंगामा ५ वटा दुर्घटना हुँदा ७ जना, संखुवासभामा ४ वटा दुर्घटना हुँदा ६ जना र ताप्लेजुङमा ३ वटा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । त्यस्तै, धनकुटा, भोजपुर र सोलुखुम्बुमा १–१ वटा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । तेह्रथुममा भने दसैँको अवधिमा कुनै दुर्घटना नभएको इन्स्पेक्टर थपलियाको भनाइ छ ।
उनका अनुसार दसैँको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ४ सय ५७ वटा सवारीसाधन कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघनको कसुरमा सवारीसाधनलाई जरिबाना गर्दा २५ लाख २९ हजार रूपैयाँ राजस्व संकलन भएको जानकारी थपलियाले दिए ।


























