
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन् । आज (सोमबार) देखि काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटनसँगै नेपाली क्रिकेटको प्रमुख फ्रेन्चाइज प्रतियोगिताको नयाँ सिजन अघि बढेको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । खेलका लागि टस जितेको लुम्बिनीले पहिले बलिङ गर्ने निर्णय गरेको छ । यससँगै सुदूरपश्चिमले पहिले ब्याटिङ गर्नेछ ।
तेस्रो संस्करणको पहिलो खेलमा दुवै टोली जितसहित प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यमा मैदान उत्रँदैछन् । अघिल्लो संस्करणको फाइनलमा पनि यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो, जहाँ लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको थियो । त्यसैले यसपटकको उद्घाटन खेललाई अघिल्लो सिजनको फाइनलको पुनः प्रतिस्पर्धाका रूपमा समेत हेरिएको छ ।
यस संस्करणको एनपीएलमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्ससहित आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिता आगामी नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ ।
नेपाली क्रिकेटमा घरेलु तथा अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता रहने एनपीएललाई खेलप्रेमीले चासोका साथ हेर्ने गरेका छन् । तेस्रो संस्करणको सुरुवातसँगै अबको केही सातासम्म कीर्तिपुरस्थित मैदानमा विभिन्न टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

























