
झापा । झापा बारकी सहसचिव एवं महिला समिति संयोजक अधिवक्ता सानु कार्की बस्नेतले झापा कारागारको पुस्तकालयका लागि दुई थान पुस्तक हस्तान्तरण गरेकी छन् ।
कारागारमा रहेका कैदीबन्दीको ज्ञान, चेतना र बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उनले ‘पराग’ नामक पुस्तक उपलब्ध गराएकी हुन् । पुस्तक अध्ययनबाट कैदीबन्दीले सार्वजनिक प्रशासन, संविधान, कानुन तथा समसामयिक विषयमा सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गर्न सक्ने विश्वासका साथ पुस्तक हस्तान्तरण गरिएको अधिवक्ता कार्कीले बताइन् ।
कारागार कार्यालय झापाका प्रमुख पूर्णबहादुर खत्रीले कार्कीको सहयोगलाई सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उदाहरणका रूपमा लिएको बताए । नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनद्वारा प्रकाशित ‘पराग’ पुस्तकमा सार्वजनिक प्रशासन, कर्मचारी प्रशासन, शासकीय व्यवस्थापनका नवीन सोच, शैली र अभ्यास तथा सार्वजनिक प्रशासन सुधारका विभिन्न आयाम समेटिएका छन् ।
कारागारको पुस्तकालयमा उपलब्ध पुस्तकको अध्ययनले कैदीबन्दीमा पढ्ने बानीको विकास गर्नुका साथै खाली समयको सदुपयोग गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । अध्ययनबाट प्राप्त ज्ञान र सकारात्मक सोचले उनीहरूलाई असल व्यवहार विकास गर्दै समाजमा पुनःस्थापित हुन र असल नागरिकका रूपमा जीवन अघि बढाउन प्रेरणा मिल्ने विश्वास गरिएको छ ।

























